ad ad

राजनीति


प्रधानमन्त्रीले गरे बाबा महाकालको दर्शन, चढाए १०८ केजी रुद्राक्ष

प्रधानमन्त्रीले गरे बाबा महाकालको दर्शन, चढाए १०८ केजी रुद्राक्ष

नेपालखबर
जेठ १९, २०८० शुक्रबार १४:४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिन भारतको राजधानी नयाँ दिल्लीमा राजनीतिक भेटघाटपछि राज्यहरुको भ्रमणमा निस्किएका छन्।

प्रचण्ड भ्रमण टोलीका अन्य सदस्यसहित शुक्रबार दिउँसो दिल्लीबाट मध्य प्रदेश राज्यको उज्जैनतिर लागेका छन्। 

प्रचण्ड शुक्रबार बिहान मध्य प्रदेशको इन्दौर पुगेका थिए। 

हवाईमार्गबाट इन्दौरको देवी अहिल्याबाई होल्कर विमानस्थल पुगेका दाहाललाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरे।

विमानस्थलबाहिर प्रधानमन्त्री दाहाललाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिउँसो हिन्दुहरुले मान्ने १२ ज्योतिर्लिङ्गमध्ये एक महाकाल मन्दिरको दर्शन गरेका छन्।

शुक्रबार नयाँदिल्लीबाट जहाजमा इन्दौर उत्रिएपछि सडकमार्ग हुँदै उज्जैन पुगेर प्रचण्डले महाकाल मन्दिरको दर्शन गरेका हुन्। 

उनले महाकाल मन्दिरमा आठवटा लगेजमा लगिएको १०८ केजी रूद्राक्षले पनि विशेष पूजा गरेका छन्। 

नेपालमै उत्पादित काठमाडौंबाट लगिएको विशेष प्रकारको १०८ केजी रूद्राक्षले उक्त मन्दिरमा पूजा गर्ने तालिका थियो। त्यसक्रममा उनलाई मन्दिरका पुजारीहरुले स्वागत गरेका छन्। 

१२ ज्योतिर्लिङ्गमध्ये एक उक्त महाकालेश्वर मन्दिरमा पूजाअर्चनाअघि उनलाई सांस्कृतिका कार्यक्रमसहित स्वागत गरिएको थियो। 

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्था हेरफेर गरेर ६ घन्टासम्म सर्वसाधारणलाई पूजामा रोक लगाइएको थियो।

शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनलाई प्रवेश निषेध गरिएको हो। 

त्यस अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्रै गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा मिलाइएको थियो। 

महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डले पूजा गर्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेल पनि स्वागतमा पुगेका थिए। 

मध्य प्रदेशका मु्ख्यमन्त्री शिवराज सिंह चौहानले प्रचण्डलाई उज्जैनमा बाबा महाकालको दर्शन गरेर नेपाली जनताको कल्याण र विकासका लागि आशीर्वाद लिन भनेका थिए। 

उनले प्रधानमन्त्री प्रचण्डलाई देवी अहिल्याको पवित्र नगर र भारतको सबैभन्दा स्वच्छ शहर इन्दौरमा हृदयबाटै स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्। 

मुख्यमन्त्री चौहानले बाबा महाकालको दर्शन गरेर नेपालका जनताको कल्याण र विकासको आशीर्वाद लिन पनि प्रचण्डलाई भनेका छन्। 

‘म बाबा पशुपतिनाथसँग प्रार्थना गर्छु, दुवै राष्ट्र सदैव विकास, कल्याण र आपसी सद्भावको पथमा निरन्तर प्रगति गरुन्।’

चौहानले नेपाल र भारतको सभ्यता र संस्कृति पनि एकै रहेको बताएका छन्। 

‘नेपाल र भारत प्राचीन राष्ट्र हुन्। हाम्रो समृद्ध इतिहास रहिआएको छ’, उनले भनेका छन्, ‘कयौँ पटक लाग्छ कि शरीर दुई छन् तर हाम्रो संस्कृति, सभ्यता र संस्कार एकै छ।’

उनले बाबा पशुपतिनाथको नगरी काठमाडौंदेखि बाबा महाकालको नगरी उज्जैनसम्म साझा विरासत रहेको पनि बताएका छन्। 

‘मध्यप्रदेशवासी अभिभूत छौँ, आफ्नो मित्र राष्ट्र नेपालका प्रधानमन्त्री प्रचण्डजीको स्वागत गर्न पाउँदा’, उनले भनेका छन्, ‘आज हामीले मध्यप्रदेशको गौरवशाली परम्पराका रुपमा माननीय प्रधानमन्त्री प्रचण्डको स्वागत गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .