नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका सांसदहरूले संसदमा अराजकता देखाएको भन्दै त्यसको जवाफ फर्काउने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद दाहालले एमाले सांसदहरुको संसदमा प्रश्तुती असाध्यै अराजक र अशिष्ट भएको बताए।
‘उहाँहरुको प्रस्तुती असाध्यै अराजक, अशिष्ट छ। आजको सदनको उपस्थिति र उहाँहरुको प्रश्तुती, गतिविधि देख्दा अत्याचार नै देखिन्थ्यो,’ सांसद दाहालले भने, ‘हुर्मत उहाँहरुले लिनुभएको छ। हामी त स्वाभावैले संविधानको मातहतमा रहेर, संसद नियमावलीको मातहतमा रहेर, अनुशासनको जगबाट ति सबै खाले अराजकतालाई जवाफ दिन्छौँ।’
एमाले सांसदहरूले प्रधानमन्त्रीको हुर्मत लिएको उनको भनाई छ। उनले सबै खालका अराजकताहरुको संविधान, प्रतिनिधि सभा नियमावली र अनुशासनभित्र रहेर जवाफ दिने पनि बताए।
‘सदनभित्र केही माननीयज्युहरु त लौ आओ कुस्ती खेल्न भनेर छाती खोलेर वेलमै आएको पनि यहाँले देख्न सक्नुहुन्छ। त्यहाँ भन्दा अराजकताको पराकाष्ठा केही हुन्छ?’ उनले प्रश्न गर्दै भने, ‘त्यहाँभन्दा असंसदीय चरित्रको पराकाष्ठा केही हुन्छ? प्रधानमन्त्री बोल्दै गर्दा बोल्नै नदिने, हुर्मत लिने, सरकारका तर्फबाट आफ्ना कुरा राख्न नदिने जुन खालको गतिविधि देखिन्छ यो उहाँहरुको असंसदीय चरित्रको पराकाष्ठा हो।’
प्रतिपक्ष दलका सांसदहरुले अराजकता र असंसदीय चरित्रको पराकाष्ठ नै देखाएको उनले टिप्पणी गरे। ‘सरकारले गर्न लागेको सकारात्मक काम र सकारात्मक परिणामको ईष्र्या हो। डाहा हो भन्ने कुरा मैले देख्नसक्छु,’ सांसद दाहालले भने।
सांसद दाहालले आजको संसद बैठकमा सभामुखको पनि तटस्थ भुमिका नभएको पनि बताए।
सभामुखले अमुक पार्टीको कारिन्दा जस्तो भएर सांसदहरुलाई अराजक, असभ्य र अशिष्ट ढंगले पेस हुन मलजल गरेको पनि उल्लेख पनि गरे।
उनले सभामुखलाई तटस्थ भुमिका अपनाउन आग्रह समेत गरे।
‘सभामुखको भुमिका आज अलिकति पनि सभामुखको जस्तो थिएन। उहाँको तटस्थ भुमिका हुनुपर्ने। संसद नियमावलीको मातहतमा रहेर आफ्नो सदन सञ्चालन गर्नुपर्ने त्यो देखिँदैनथ्यो,’ दाहालले भने, ‘उहाँ एउटा अमुक पार्टीको कारिन्दा जस्तो र असाध्यै संसदलाई अराजक ढंगले, असभ्य र अशिष्ट ढंगले पेश हुनको निम्ति मलजल गरेको जस्तो देखिन्थ्यो।’
सभामुखले अमुक पार्टीलाई प्रशय दिएको भन्दै उनले तटस्थ रहन आग्रह गरेका छन्।
‘सभामुखलाई कमसेकम संविधानको मातहतमा रहेर, संसद नियमावलीको मातहतमै रहेर तपाईले सदन सञ्चालन गरिदिनुस्। सदन सञ्चालनका बेला तपाईले तटस्थता अपनाउनुपर्छ। अमुक पार्टीलाई प्रश्रय दिने, अराजकतालाई प्रश्रय दिने, अनुशासनहिनतालाई प्रश्रय दिने र सदन सञ्चालन गर्दाखेरी बेथितिलाई प्रश्रय दिने जो उहाँको भुमिका देखिन्छ, त्यो
भुमिकाबाट सभामुख पछाडी फर्किनुपर्छ,’ सांसद दाहालले भने।
Shares
प्रतिक्रिया