नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेशहरुको नाम जातीय र भाषिक आधारमा नराखेर गम्भीर गल्ती भएको बताएका छन्।
प्रदेश १ को नाम गत फागुनमा कोशी राखिएपछि आन्दोलन चलिरहेका अवस्थामा अन्य प्रदेशको नाम पनि जातीय आधारमा राखिनुपर्ने उनले जिकिर गरेका छन्।
उनले प्रदेश १ को नाम किरात/लिम्बुवान वा लिम्बुवान/किरात नै राखिनुपर्ने अडान नेसपाको रहेको बताएका छन्।
‘१ नं. प्रदेशको नामाकरण किरात/लिम्बुवान वा लिम्बुवान/किरात हुनुपर्छ भन्ने नेसपाको शुरूदेखिको स्पष्ट धारणा रहिआएको छ’, उनले भनेका छन्, ‘पुराना दलहरूको गलत अडान र निर्णयले गर्दा उक्त प्रदेशका जातीय-भाषिक पहिचान पक्षधर जनसमुदाय-दल-संगठन केही समयदेखि आन्दोलनरत छन्। त्यसमा हाम्रो पार्टीको पूर्ण ऐक्यबद्धता र विभिन्न रूपमा संलग्नता छ।’
उनले प्रदेश सभामा रहेका दलहरूले छिटो आफ्नो गलत हठ त्यागेर प्रदेशको नामाकरण जातीय-भाषिक पहिचानका आधारमा गर्नुपर्ने पनि बताएका छन्। उनले यदि त्यसो नभए अनावश्यक क्षति हुन सक्ने पनि जिकिर गरेका छन्।
भट्टराईले संविधानसभाको समिति र राज्यबाट गठित राज्यको पुनर्संरचनासम्बन्धी आयोगले पहिचानका ५ आधार जातीय, भाषिक, सांस्कृतिक, ऐतिहासिक र भौगोलिक भनेर सिफारिस गरेकोमा मधेसबाहेक कुनै पनि प्रदेश जातीय-भाषिक आधारमा नामाकरण नहुनु दुखद भएको बताएका छन्।
उनले अहिले प्रदेशहरुको नाम पञ्चायतकालकै अञ्चल झल्कपने गरी राखिनु बिडम्वनापूर्ण रहेको बताउँदै यसलाई सच्याउनु आवश्यक रहेको जिकिर गरेका छन्।
Shares
प्रतिक्रिया