ad ad

राजनीति


प्रधानमन्त्रीले एक घण्टा सम्बोधन गर्दा २२ पटक बिजुली गयो

प्रधानमन्त्रीले एक घण्टा सम्बोधन गर्दा २२ पटक बिजुली गयो

दाङको बेलझुन्डीमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
जेठ ३१, २०८० बुधबार १४:५४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार लुम्बिनी र कर्णाली प्रदेशको यात्रामा छन्।

प्रधानमन्त्री बुधबार दैलेखको दुल्लुमा आयोजना हुने एक कार्यक्रममा सहभागिताका लागि दाङ हुँदै गएका हुन्।  

प्रधानमन्त्रीको सचिवालयका अनुसार कूल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड दुल्लु गएका हुन्। 

दैलेख जाने क्रममा उनी बुधबार दिउँसो दाङको बेलझुन्डीमा ओर्लिएर त्यहाँस्थित नेकपा माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गरे।

उनले त्यहाँ कार्यकर्ताहरुमाझ सरकारका उपलब्धि, भ्रष्टाचार नियन्त्रण अभियान र फेरि नेकपा ब्युँताउनेसम्म कुरा राख्न भ्याए।

प्रचण्डले भ्रष्टाचारविरोधी अभियान चलाउँदा आफू कुनै हालतमा नझुक्ने बरु सरकार छाड्न तयार हुने पनि बताएर कार्यकर्तामा ऊर्जा भर्ने कोसिस गरे।

उक्त कार्यक्रममा दाङनिवासी नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएमसहितका पत्रकाहरु पनि सहभागी थिए। 

पत्रकार जिएमले प्रधानमन्त्रीले एक घण्टा लामो सम्बोधन गर्दा पटक पटक बिजुली गएको भन्दै सामाजिक सञ्जालमै दिक्दारी पोखेका छन्। 

जिएमका अनुसार प्रधानमन्त्रीले बेलझुन्डीमा कार्यकर्ताहरुलाई एक घण्टा लामो भाषण दिने क्रममा २२ पटक बिजुली गएको थियो। 

सरकारले देशभर बिजुली आपूर्ति गरेर भारतमा पनि बेच्ने चर्चा भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापकीय कमजोरी प्रधानमन्त्रीकै कार्यक्रमा छताछुल्ल भएको छ।

‘भारतलाई समेत बिजुली बेच्ने मेरो देशका सम्माननीय प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा करिब १ घण्टा सम्बोधन गर्दा २२ पटक बत्ती आउने र जाने गर्‍यो’, जिएमले भनेका छन्, ‘यसमा कमजोरी कसको?’

प्रधानमन्त्री प्रचण्ड दाङमा कार्यकर्तालाई सम्बोधन गरेपछि त्यहाँबाट नेपाल संस्कृत विश्वविद्यालयको कार्यक्रममा सहभागी भए।

उनले बुधबार नै नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गरेका छन्। त्यसपछि उनी दैलेखतिर लागेका छन्। त्यहाँ उनी दाहाल वंशको कार्यक्रममा भाग लिएर फर्किनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .