ad ad

राजनीति


चीनमा ४ महिना उपचार गराएर स्वदेश फर्किनासाथ वर्षमानले भने- तत्काल राजनीतिमा सक्रिय हुन्छु

चीनमा ४ महिना उपचार गराएर स्वदेश फर्किनासाथ वर्षमानले भने- तत्काल राजनीतिमा सक्रिय हुन्छु

त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा उपमहासचिव पुनलाई स्वागत गर्दै गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


नेपालखबर
असार १, २०८० शुक्रबार १३:४७, काठमाडौँ

चीनमा चार महिनाको उपचारपछि शुक्रबार स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आफू तत्कालैदेखि राजनीतिक काममा सक्रिय हुने बताएका छन्। 

स्वदेश फर्किएकामा आफूलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकसँग कुरा गर्दै माओवादी नेता पुनले आफू अब पार्टीका काम र जनताको सेवामा खटिने बताएका छन्। 

‘म तत्काल नियमित रूपमा पार्टी काम र जनताको सेवामा सक्रिय हुनेछु’, उनले भने, ‘जनतासँग सम्बन्धित, देश, राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एजेन्डामा केन्द्रित रहेर काममा लाग्नेछु।’ 

पुन शुक्रबार चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत नेपाल आएका हुन्। पुनका साथमा पूर्वसभामुख एवं उनकी पत्नी ओनसरी घर्ती पनि स्वदेश फर्किएकी छन्। 

लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित पुनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई गत फागुन १ गते चीन लगिएको थियो। त्यहाँको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उनको उपचार गरिएको हो। 

चीन जाँदा उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बिन्दुमा थियो। चार महिना महिना लामो उपचारपछि स्वदेश फर्किएका पुन अहिले भने तन्दुरुस्त देखिएका छन्। हाल बिलरुबिनको मात्रा घटेर १.५ बिन्दुमा झरेको उनले बताए। 

चिकित्सकहरूका अनुसार सामान्यतः स्वस्थ मानिसको शरीरमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ। यसभन्दा बढी भएमा जन्डिस भएको मानिन्छ। 

चीन जानुअघि पुनको उपचार थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा गरिएको थियो। तर त्यहाँको उपचारले काम नगरेपछि उनको स्वास्थ्य अवस्था नाजुक भएको थियो। त्यसपछि २०७८ मंसिरमा पुनलाई बैंककबाट एयर एम्बुलेन्समार्फत सीधै चीनको सेनजेन लगिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .