नक्कली शरणार्थी प्रकरणको आदेश आउन बाँकी रहेको छ। आदेश लेख्नुअघि शुक्रबार सरकारी वकिलहरुले जवाफी बहस सकेका छन्।
शुक्रबार सबैभन्दा पहिले जवाफी बहसका क्रममा सह-न्यायाधिवक्ता लक्ष्मण घिमिरेले बिचौलियाहरुसँगको झगडा गृहमन्त्रालयसम्मै पुगेको बताए।
उनले हज कमिटीका अध्यक्ष शमशेर मियाँले दिएको सरकारी गाडीबाटै बिचौलियाहरुले करोडौं रुपैयाँ ओसारपसार गरेको पनि खुलाए।
‘शमशेर मियाँले हेर्दा गाडी दिएको मात्रै देखिन्छ। तर उसको गाडीले त्यहाँ निर ठूलो काम गरेको छ’, उनले भने, ‘सन्देश शर्मा गृहको गाडी चढेर गएका थिए। गृहको परिचय पत्र बोकेर गएको देखियो। सरकारी गाडीमा सरकारी परिचयपत्र बोकेर गएकैले पीडितहरुले उसलाई पछ्याएर यो अपराध हुन सम्भव भयो।’
उनले बालकृष्ण खाँणको घरमा भेटिएको कागजमा सचिवले माथिको आदेशअनुसार गरेको भनिएको पनि बताए।
यो प्रकरणबाट जोगिन बालकृष्णले आङटावा शेर्पामार्फत पैसा फिर्ता गराएर मिलाउन लगाएको भन्दै योभन्दा ठूलो प्रमाण अरु हुन नसक्ने तर्क गरे।
उनले बिचौलियासँगको लेदनेनलाई लिएर टोपबहादुर रामायझी गृहमन्त्रालयमै पसेर झगडा गरेको पनि दाबी गरे।
‘टोपपबहादुर रायमाझी गृहमा गएका छन्। त्यहाँ आर्थिक लेनदेनलाई लिएर झगडा भएको छ’, उनले भने, ‘हेलिकोप्टरमा चढेर प्रतिवादीसँग गोसाईकुण्ड पुगेका छन्। जग्गाको कारोबार भए गृहमन्त्रालयमा झगडा हुन्छ?’
उनले बहसका क्रममा चार वर्षअगाडि भएको यो प्रकरणमा सीसीटीभी फुटेज खोजेर पनि नपाइने बताए।
‘प्रतिवादीबाट बहस गर्नेले सीसी क्यामेरा फुटेज भन्नु हुन्छ। उहाँले चाहिँ ४ वर्षअगाडि सीसी क्यामेराको फुटेज रहने गरी जडान गरनु भएको छ त?’, उनले भने, ‘उहाँले त दुई महिना तीन महिनाभन्दा बढी स्टोर नरहने गरेर क्यामेरा जडान गर्नु भएको छ। अनि चार वर्षअघिको फुटेज खोजेर हुन्छ त?’
बहसका क्रममा उनले टंक गुरुङको होटल अपराधीको केन्द्रबिन्दु बनेको बताए।
‘सबै गतिविधि त्यहीँ बसेर सेटिङ भएका छन्। उनले १० लाख रुपैयाँ लिएर होटललाई क्राइमका लागि प्रयोग गर्न दिएका छन्’, उनले भने, ‘सानु भण्डारीले सन्दीप रायमाझीसँग सेयर बेचेको हो भने सन्दीपले सानुलाई पैसा दिनुपर्ने हो यहाँ त सानुले सन्दीपलाई पैसा दिएका छन्।’
उनले जाहेरवालाले प्रतिवादीलाई चिन्दैनन् भनेको कुरामा पनि जवाफ दिए। ‘झापाको प्रतिवादीले, दाङको प्रतिवादीले आङटावालाई चिन्दैन। यसरी आआफ्ना ठाउँमा जस-जसले पैसा उठाएका छन् उनीहरुले मात्रै चिन्छन्’, उनले भने, ‘यसमा चेन नै प्रयोग गरिएको छ। पावर पोजिसनको दुरुपयोग गरेर भुटानी शरणार्थी पठाउने पवित्र काम गरेर नितान्त आर्थिक लाभका लागि काम गरिएको छ।’
Shares
प्रतिक्रिया