ad ad

राजनीति


राजनीति गर्नेले पनि पेशा गरेर मात्रै खान पाउने व्यवस्था गर्नुपर्छ : सुशीला कार्की

राजनीति गर्नेले पनि पेशा गरेर मात्रै खान पाउने व्यवस्था गर्नुपर्छ : सुशीला कार्की

फाइल तस्बिर


नेपालखबर
असार २, २०८० शनिबार २०:४३, काठमाडौँ

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीति गर्नेहरुले पनि कुनै पेशा गरेर मात्रै खान पाउने व्यवस्था हुनुपर्ने बताएकी छिन्।

राजनीतिमा जुका जसरी जीवनभर टाँसीरहने र आफ्नो ३/४ पुस्तालाई पुग्ने गरी सम्पत्ति जोड्ने प्रचलनको अन्त्य हुनुपर्ने उनको भनाई थियो।

शनिबार काठमाडांैमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले अमेरिकामा राष्ट्रपति भएकाहरुले विभिन्न पेशा अंगालेर अघि बढेको दृष्टान्त पेश गर्दै हाम्रा राजनीति गर्नेहरुमा पनि जीवन रहेसम्म सम्पत्ति जोडने प्रवृत्तिमा परिवर्तन आउनुपर्ने बताइन्।

‘मलाई चाँही के भन्न मन लाग्यो भने हर पोलिटिसिएनले उसले कामै गर्न नपर्ने? उसले आफ्नो रोजगारी बनाउनु पर्दैन? खानका लागि उसले चाँही कुनै वे बनाउनु पर्दैन,’ उनले भने, ‘ओबामा गएर पढाउँदैछ। हरेक अमेरिकाका राष्ट्रपतिहरुले आफ्नो पेशा बनाएर कोही वकील छन्। कोही व्यापारी छन्। आफ्नो व्यवसाय त गरेका छन नि। हाम्रो चाँही राजनीतिमा गएर जुका जस्तो टाँसियो। अनि नमरुन्जेलसम्मलाई सम्पत्ति जोडनुपर्ने।’

उनले राजनीति गर्नेहरु अध्ययनशील हुनुपर्नेतर्फ पनि सचेत गराइन्। पूर्वप्रधानन्यायाधीश कार्कीले गरिवले सिटामोल पनि नपाउने तर नेताहरुले उपचार खर्चको नाममा करोडौं राज्यकोष दोहन गर्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने बताइन्। 

‘तीन पुस्ता, चार पुस्तालाई चाहिने सम्पत्ति चाँही जोडनुपर्ने। यो प्रवृत्तिमा परिवर्तन आउनु पर्छ। कमाएर खानुपर्छ भन्ने भावना पोलिटिसिएनमा हुनुपर्छ कि पर्दैन? राजनीतिमा गएपछि एक अक्षर पनि पढदै नपढने, पुस्तक हेर्दै नहेर्ने,’ उनले भनिन्, ‘तिमीले नेपालको पोलिटिक्सबारे के थाहा छ? अन्तराष्ट्रिय क्षेत्रमा गएर नेपालको पोलिटिक्सबारे तिमीले केही बोल्न सक्छौं? त्यो आफ्नो क्षमता डेभलप्ट गर्नु पर्छ कि पर्दैन? गरिवले सिटामोल खान नपाउने, राजनीति गर्नेहरुले चाँही उपचार खर्च भनेर ३ करोड, १ करोड, ६० लाख भनेर राज्यबाट रकम लिन मिल्दैन। यो प्रवृत्ति समाप्त हुनुपर्छ।’

कार्यक्रममा बोल्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अख्तियारलगायतका निकायहरु मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि नबनाएको दाबी गरे। 

राजनीतिक भागबण्डाको आधारमा ती निकायका पदाधिकारीहरुको नियुक्ती हुने भएकाले त्यसले भ्रष्टाचार नियन्त्रणको काम गर्नै नसक्ने उनको तर्क थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .