पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाको अवधारणा ल्याउने आफूलाई जानकारी नदिई मोर्चा घोषणा गरिएको बताएका छन्।
समाजवादी मोर्चा घोषणासम्म आइपुग्दा आफूलाई शृंखलाबद्ध रूपमा तेस्रोपटक निषेध गर्न खोजिएको आरोप पनि उनले लगाएका छन्।
उनले नयाँ शक्ति स्थापना गर्दादेखिका घटनाक्रम उल्लेख गर्दै यसलाई आकस्मिकता मात्र मान्न नसकिने टिप्पणी गरेका छन्। बरु यो आफ्नो विचारलाई सिध्याउने षड्यन्त्र भएको आरोप उनले लगाएका छन्।
‘पहिलो, नयाँ शक्ति स्थापना हुँदा निर्वाचन चिह्न नै नदिनु! दोस्रो, अरूलाई २० प्रतिशत मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसँग ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य र सांसद हुँदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु, तेस्रो, दुई वर्ष अघिदेखि समाजवादी केन्द्र/मोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गर्नु’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘के यो सबै आकस्मिकता हो? कृष्णलाई देवकीकै गर्भमा हुुुुँदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए? विचार कसैले मार्न खोज्दैमा मर्छ र?’
यसअघि पनि डा. भट्टराईले सामाजिक सञ्जालमार्फत नै समाजवादी मोर्चाको कडा आलोचना गरेका थिए।
Shares
प्रतिक्रिया