ad ad

राजनीति


प्रचण्डको पछुतो : गिरिजाप्रसादलाई राष्ट्रपतिमा प्रस्ताव नगर्नु मेरो गल्ती थियो (भिडिओ)

प्रचण्डको पछुतो : गिरिजाप्रसादलाई राष्ट्रपतिमा प्रस्ताव नगर्नु मेरो गल्ती थियो (भिडिओ)

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
असार १८, २०८० सोमबार १२:२७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पछुतो लागेको बताएका छन्।

जीपी कोइराला मेमोरियल कलेजको १२ औँ वार्षिक उत्सव तथा गिरिजा प्रसाद कोइरालाको सतवार्षिकी समारोहलाई सोमबार काठमाडौंको चाबहिलमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

देशलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा आफू र गिरिजाप्रसादबीच गणतन्त्रका लागि सम्झौता भएको पनि बताएका छन्।

गिरिजाप्रसाद गणतन्त्रमा आउन तयार भएपछि आफूहरु शान्ति प्रक्रियामा आउन तयार भएको दाबी पनि प्रचण्डले गरेका छन्। 

‘उहाँ (गिरिजाप्रसाद) ले शान्ति प्रक्रियामा आउनुपर्‍यो, तपाईंहरूका कुरा के छन्? सहमति गरौँ भन्नुभएको थियो। मैले पनि धेरै भन्नु छैन, शान्तिमा आउँछौँ, तपाईंले गणतन्त्र आइदिनुपर्‍यो भनेको थिएँ’, उनले भने, ‘उहाँ (गिरिजाप्रसाद) ले पहिलो भेटमा गणतन्त्रमा आउँछु भन्नुभएको थिएन। तर, त्यसबारे विश्वास दिनु भयो।’ 

उनले गिरिजाप्रसाद पहिलो भेटमै गणतन्त्रका लागि तयार भइसकेको प्रसंग पनि निकाले। ‘मैले पनि उहाँलाई विश्वास दिलाएको थिएँ। हो त्यही बिन्दुबाट हामीबीच १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भयो। यो उपलब्धिका लागि सामान्य मिहिनेत भएको थिएन।’

उनले आफू र गिरिजाप्रसादबीच भएको सम्झौतालाई असाधारण भनेका छन्। 

‘यो असाधारण राजनीतिक सम्झौता थियो। एउटा ठलो सामाजिक रुपान्तरणको महाअभियान पनि थियो। पहिलो भेटदेखि उहाँमा कुनै द्विविधा, अविश्वास र अस्थिरता देखिनँ’, उनले भने, ‘बरु मैले त्यसपछि गल्ती गरेँ, उहाँले गर्नुभएन। उहाँसँग पहिलो भेटमा भनेका र लिएका कुरा सबै पूरा गर्न सकिनँ। मैले उहाँको चहानाविपरीत निर्णय गर्दा पनि विश्वास गर्न छाड्नुभएन। मलाई संरक्षण गरिरहनु भयो। उहाँ नायकका रुपमा स्थापित हुनु भयो।’

प्रचण्डले गिरिजाप्रसादलाई राष्ट्रपतिमा प्रस्ताव नगरेर गल्ती गरेको स्वीकारे। 

‘उहाँ (गिरिजाप्रसाद) नभएको भए देश यहाँसम्म आउने थिएन। गणतन्त्र घोषणापछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो तर मैले गर्न सकिनँ’, उनले भने, ‘मलाई त्यस कुरामा पश्चात्ताप छ। मैले प्रस्ताव नगरेपछि पहिले जस्तो विश्वास नगर्नु होला लागेको थियो। तै पनि मेरो नेतृत्व देशलाई जरुरी छ भनिरहनु भयो।’

उनले आफूहरुको त्याग र बलिदानको बलमा यो व्यवस्था ल्याएको पनि बताए। ‘हाम्रो ठूलो मिहिनेतले यो व्यवस्था ल्याएका हौँ’, उनले भने, ‘तर अहिले गाली गरेकै भरमा यो व्यवस्था नै उल्ट्याउन खोजिरहेका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .