प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ।
प्रधानमन्त्री दाहालले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो।
प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक भारत गएको भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतामा आँच पुगेको एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बताए। उनले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने भन्दै बैठक अवरोध गर्ने जानकारी राष्ट्रिय सभा अध्यक्षलाई दिए।
उनले भने, ‘देशको अनुकुल हुनेगरी बोल्नुपर्नेमा देशको अहीत हुनेगरी, सार्वभौमसत्ताको अपमान हुनेगरी, स्वाधिन राष्ट्रको अपमान हुनेगरी हाम्रो देशको प्रधानमन्त्री कुन देशबाट निर्देशित हुनुहुन्छ? कसबाट परिचालित हुनुहुन्छ? को बाट निर्देशित भएर चल्नुभएको छ? यो हामीलाई दुःखको कुरा हो। यो सदनको कामलाई अगाडि नबढाइयोस्।’
राष्ट्रिय सभा बैठक असार २२ गते शुक्रवार अपरान्ह १२ः२९ मा बस्नेगरी बोलाइएको छ।
Shares
प्रतिक्रिया