राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं निवर्तमान उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को टोलीबीच भेटवार्ता भएको छ।
इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्कीलगायतका पदाधिकारी/सदस्य सोमबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगी अध्यक्ष लिङ्देनसँग ऊर्जा क्षेत्रका विविध विषयमा कुराकानी गरेका हुन्।
त्यस अवसरमा अध्यक्ष लिङ्देनले हालैको अधिवेशनबाट निर्वाचित इप्पानको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएको राप्रपाले जनाएको छ। भेटमा नेपालमा विद्युत उत्पादनको क्षेत्रमा रहेका समस्या र सम्भावनाबारे छलफल पनि भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
ऊर्जामन्त्रीको छोटो कार्यकालमै पनि ऊर्जा क्षेत्रको समस्याको पहिचान गरी समाधानको प्रयास सुरु गरेकामा इप्पान टोलीले लिङ्देनलाई धन्यवाद दिएको उनको भनाइ छ।
विद्युत खरिद सम्झौता स्वतन्त्र ऊर्जा उत्पादकहरुका लागि घाँटीमा अड्किएको हड्डीका रुपमा रहेको थियो, तपाईंले आफ्नो छोटो समयमा पनि सम्झौता अघि बढाएर ऊर्जा उत्पादकहरुलाई गुन लगाउनुभएको र लगानीको सुनिश्चितता प्रदान गर्नुभएको छ, लिङ्देनलाई इप्पान टोलीले भनेको छ।
त्यस अवसरमा लिङ्देनले मन्त्रालयको नेतृत्वमा इमानदारिता र इच्छा-शक्ति हुने हो भने नेपालमा ऊर्जा क्षेत्रको विकासमार्फत देशको कायापलट गर्न सकिने आफ्नो विश्वास रहेको बताए।
Shares
प्रतिक्रिया