ad ad

राजनीति


एमालेको दाबी- पार्टी सदस्य संख्या घटेको छैन, इतिहासकै क्रमभंग भयो

एमालेको दाबी- पार्टी सदस्य संख्या घटेको छैन, इतिहासकै क्रमभंग भयो

नेपालखबर
साउन ४, २०८० बिहिबार १६:३९, काठमाडौँ

नेकपा (एमाले)ले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ। एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन्।

‘नेकपा (एमाले)को सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन्।’

उनले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको एघारौँ महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य पु¥याउने लक्ष्य रहेको उल्लेख गरेका छन्।

एमालेले दशौं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउने क्रममा अहिले वास्तविक पार्टी सदस्य सङ्ख्या रहेको स्पष्ट पारे। एमालेले महाधिवेशनको आयोजना नभएको समयमा अहिले सक्रिय सदस्यको यथार्थ सङ्ख्या र योग्यतम सदस्यको मात्र नवीकरण गरिएको उनले बताएका छन्।

‘दशौँ महाधिवेशनमा कायम भएका सदस्यमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपाकालमा अनुचित ढङ्गले दिइएका सदस्यको ठूलो सङ्ख्या पनि त्यसमा पर्न गएको थियो। तसर्थ, त्यो एमालेको वास्तविक सदस्य सङ्ख्या थिएन’, उनले भनेको छ, ‘यो कुरा नवौं महाधिवेशनको आंकडा हेर्दा पनि स्पष्ट हुन्छ। विसं २०७१ मा सम्पन्न भएको नवौं महाधिवेशनमा दुई लाख ५६ हजार सात सय ७२ जना मात्रै पार्टी सदस्य थिए।’

सङ्गठन विभाग प्रमुख अधिकारीले एमालेले यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यको सदस्यता नवीकरण हुने गरेको र जसले गर्दा निष्क्रिय सदस्यले पनि नवीकरण गर्ने अवसर पाउने गरेको उल्लेख गरेका छन्।

‘नेतृत्वका आकांक्षीबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइनेजस्ता अनियमित कामका कारण अनुचित ढंगले पनि सङ्ख्या बढ्न पुग्थ्यो। एमालेको इतिहासमा यसपटक क्रमभङ्ग गरिएको छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .