ad ad

राजनीति


मास्टर्स वा पीएचडी गरेकाहरू सुनकाण्डका प्रमाण नष्ट गर्नेतिर केन्द्रित हुन थाले भने...

मास्टर्स वा पीएचडी गरेकाहरू सुनकाण्डका प्रमाण नष्ट गर्नेतिर केन्द्रित हुन थाले भने...

साउन ११ गते महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठ।


नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री
साउन १३, २०८० शनिबार १२:२५, महोत्तरी

हामीले अवलम्बन गरिरहेको शिक्षाको विषयमा अब गम्भीरतापूर्वक विचार र बहस गर्नुपर्ने बेला आएको छ। शिक्षा केका लागि? आज बेरोजगारीका कारणले विश्वव्यापी रूपमै र हाम्रो देशमा पनि स्वाभाविक रूपमा व्यावसायिक शिक्षाको वकालत भइरहेको छ। हामी पनि शिक्षा रोजगारीमूलक हुनुपर्‍यो भनिरहेका छौँ। 

व्यावसायिक शिक्षाको महत्त्व र शिक्षाले रोजगारी दिनुपर्ने कुरा आफैँमा गलत कुरा होइन। यसको महत्त्व छ। तर, विश्वव्यापी रूपमा अहिले शिक्षालाई फगत रोजगारीतर्फ मात्रै केन्द्रित गर्ने परिपाटी सुरु भएको छ। त्यो गलत छ। 

बाँच्नको लागि कमाउने, न्यूनतम जीवन यापनका लागि रोजगारी प्राप्त गर्ने कुरा गलत होइन। तर, अधिकतमभन्दा माथि गएर सुविधा-सम्पन्न जीवन कसरी बिताउन सकिएला भनेर सीप सिकाउने, त्यहीअनुसार धेरै कमाउनेतिर मात्रै केन्द्रित हुने खतरा हाम्रो चिन्तन प्रणालीले पैदा गर्ने खतरा छ। बिस्तारै बिस्तारै मान्छेलाई मेसिन बनाउने, सम्पूर्ण रूपमा मान्छेलाई जीविकोपार्जनमा मात्रै केन्द्रित गर्ने, अधिकतम सुविधा-सम्पन्न जीवन बिताउने उद्देश्यले मात्रै सीप सिकाउने ढंगले समाजलाई अगाडि बढाउन खोजिँदै छ। यसले शिक्षालाई गलत दिशातिर लैजाने खतरा बढेर गएको छ। 

साउन ११ गते महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक सम्मेलनमा गृहमन्त्री श्रेष्ठ।

शिक्षा जीवनका लागि हुनुपर्छ। मैले बारम्बार यसमा जोड दिँदै आएको छु। जीविकोपार्जनका लागि मात्रै शिक्षालाई सीमित गर्नु हुँदैन। बाँच्नका लागि ज्ञान र सीप चाहिन्छ। ज्ञान र सीपले जीविकोपार्जनलाई सहज बनाउँछ। जीविकोपार्जनका लागि शिक्षा, ज्ञान र सीप अत्यन्तै आवश्यक कुरा हुन्। जीवनका लागि शिक्षा भन्ने मान्यतासँग जीविकोपार्जन पनि अनिवार्य रूपमा जोडिन्छ। आफ्नो बाँच्ने कुरालाई समाधान नगरीकन राम्ररी जीवन बिताउन सकिँदैन। शिक्षाबिना सहज जीवन बिताउने अवसर नै पैदा हुँदैन। तर, मान्छेको जीवन जीविकोपार्जन मात्रै हो त? होइन। 

त्यसैले शिक्षाको पहिलो उद्देश्य- सार्थक र असल मान्छे बनाउने हुनुपर्छ। जीवनका लागि शिक्षा हुनुपर्छ, जीविकोपार्जनका लागि मात्रै होइन। यहाँनेर शिक्षा केका लागि भन्ने प्रश्न मुख्य रूपमा आउँछ। जीवनका लागि शिक्षा कि जीविकोपार्जनका लागि? जीवनका लागि शिक्षा हुनुपर्छ, जसभित्र जीविकोपार्जन स्वतः पर्छ। 

तर, यतिबेला व्यावसायिक शिक्षाका नाममा जीविकोपार्जनका लागि मात्रै शिक्षा भनेर वकालत गर्न थालिएको छ। जीविकोपार्जन र रोजगारीका लागि मात्रै शिक्षा भन्न थालियो भने जीवनको महत्त्व बोध गराउने, सार्थक जीवन बिताउने ढंगले शिक्षा दिन सकिएन भने मान्छे मेसिनमा परिणत हुन पुग्छ। 

के हामीले मान्छेलाई मेसिन बनाउन खोजेका हौँ त? होइन। मान्छे त फेरि मान्छे नै हो नि। जब हामी उसलाई मेसिनमा परिणत गर्न खोज्छौँ, मान्छेमा ‘डिप्रेसन’ सुरु हुन्छ। कम्प्युटर र मेसिनहरू यान्त्रिक हुन्छन्, तिनीहरूमा डिप्रेसन हुँदैन। तर, मान्छेचाहिँ मान्छे नै हो, त्यसलाई मान्छे नमानीकन जब मेसिन बनाउन खोज्छौँ, त्यतिबेला ‘डिप्रेस्ड’ मान्छे हामीसँग हुन्छ। एकातिर उसले मानव हुनुको सार्थकता बुझ्दैन, ऊ असल मान्छे बन्ने प्रक्रियातिर आफूलाई लैजाँदैन, आफूलाई सुविधायुक्त जीवनमा मात्रै केन्द्रित गर्छ भने उसको जीवन सार्थक हुँदैन। अन्त्यमा ऊ डिप्रेसनको सिकार हुन्छ। 

मेसिनको काम अरु हुँदैन। उसको काम त उत्पादन मात्रै हुन्छ। तर, मान्छे जीवन्त प्राणी हो। उसलाई मेसिन बनाउन खोजिन्छ भने अन्तर्विरोध पैदा हुन्छ र डिप्रेसनको सिकार हुन्छ। डिप्रेस्ड मान्छेले आफू, परिवार र समाजलाई नै नोक्सान पुर्‍याउँछ। समाजलाई कसरी प्रगति र सुविधाको यात्रामा अघि बढाउने भन्ने विषयमा उसले चिन्तन गर्न सक्दैन, योगदान गर्न सक्दैन। आफूलाई मात्रै केन्द्रित गरेर उसले काम गर्न थाल्यो भने समाज अघि बढ्दैन। 

त्यसकारण शिक्षाविद्हरूलाई मेरो एउटा सैद्धान्तिक प्रश्न- शिक्षा केका लागि? जीवनका लागि कि जीविकोपार्जनका लागि? मेरो जोड के छ भने, शिक्षा जीवनका लागि हुनुपर्छ नकि जीविकोपार्जनका लागि मात्र। यो दृष्टिकोणबाट बहस हुनुपर्छ। 

म केही उदाहरण दिन चाहन्छु। अहिले बिस्तारै प्राविधिक र व्यावसायिक शिक्षातिर हामीले ध्यान दिन थालेका छौँ। शिक्षा टेक्नोलोजीमा केन्द्रित हुँदै छ। 

मानिलिऊँ, शिक्षालाई हामीले व्यावसायिकतामा मात्रै केन्द्रित गर्‍यौँ, टेक्नोलोजीमा मात्रै केन्द्रित गर्‍यौँ भने मास्टर्स वा पीएचडी गरेका मान्छेहरू सुनकाण्डका प्रमाण नष्ट गर्ने दिशातिर केन्द्रित हुन थाले भने के हुन्छ? प्रविधिको प्रयोग गरेर सुन काण्डमा संलग्न भएका मान्छेहरूका सीसीटीभी फुटेजहरू डिलिट गर्न थाले, प्रमाणहरू नष्ट गर्न थाले भने के होला? आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर, अर्काको देशमा शरणार्थी बनाएर पैसा कमाउनतिर मात्रै लाग्ने मान्छे बने भने के होला? सरकारी जग्गा, राज्यको जग्गा हरेक प्रकारका किर्ते काम गरेर आफ्नो व्यक्तिगत बनाएर सुविधायुक्त जीवनको नाममा आलिशान भवनमा बस्न थाले भने के होला? त्यो शिक्षाले देश विकासमा योगदान गर्छ त? त्यो शिक्षाले असल मान्छे बनाउँछ? बनाउँदैन। त्यसकारण शिक्षा जीवनका लागि हुनुपर्छ, सार्थक जीवनका लागि हुनुपर्छ। समाजको हितमा हुनुपर्छ, असल मान्छे बनाउने हुनुपर्छ। 

त्यसभित्र स्वाभाविक रूपमा व्यावसायिक शिक्षा, रोजगारमूलक शिक्षा, जनशक्ति निर्माण गर्ने शिक्षा हुने नै भयो। 

एउटा मान्छे सबैभन्दा लामो समय रहने ठाउँ भनेको शैक्षिक संस्थामा हो। पाँच वर्षको उमेरदेखि कम्तीमा २२ वर्षको उमेरसम्म लगातार एउटा मान्छे शैक्षिक संस्थामा रहन्छ। विद्यालय र क्याम्पसमा उसको झण्डै दुई दशक उमेर बित्छ। उसको जीवन कस्तो हुने? ऊ समाजमा कस्तो सदस्यका रूपमा स्थापित हुने र हाम्रो समाज कस्तो हुने भन्ने कुराको निर्धारण एउटा विद्यार्थीलाई हामी कसरी शिक्षित गर्छौं भन्ने कुराले गर्छ। हाम्रो ध्यान त्यहाँ गएको छैन।

यहाँ मैले जोड दिन खोजेको विषय के हो भने एउटा मान्छेले जीवनको सबैभन्दा बढी समय बिताउने शैक्षिक संस्थामा राज्यले खर्च कति गरिरहेको छ भन्ने हो। स्वाभाविक रूपमा राज्यले शिक्षा क्षेत्रमा सबैभन्दा धेरै खर्च गर्नुपर्ने हो।

यस विषयमा राज्यले छलफल थालेको छ। सरकारले छलफल थालेको छ। एउटा मान्छे पाँच वर्षको बालकदेखि २२ वर्षको युवावस्थामा पुग्दासम्म नियमित रूपमा शिक्षण संस्थामा रहन्छ। उसलाई कस्तो नागरिक बनाउने, कस्तो वैज्ञानिक बनाउने? कस्तो प्रशासक बनाउने? कस्तो समाजसेवी बनाउने? कस्तो राजनीतिज्ञ बनाउने, कस्तो पत्रकार बनाउने भन्ने कुरा निश्चित गर्ने थलोमा खर्च गर्न हामीले कन्जुस्याइँ गर्‍यौँ भने समाज उन्नत बन्न सक्दैन। शिक्षालयबाट असल मान्छे तयार हुन सक्दैन। त्यसकारण शिक्षा क्षेत्रको अहिलेको लगानीलाई हामीले गुणात्मक रूपमा वृद्धि गर्न जरुरी छ। यो दोस्रो निष्कर्ष हो। 

हामीसँग उत्तर पनि सरल छ नि। हामीले देखिरहेका छौँ- कोही मान्छे व्यापार गर्छन्, कोही जागिर खान्छन्, कोही मान्छे राजनीतिमा छन्, कोही कृषि पेसामा छन्। तर, सबै जनशक्ति तयार हुने भनेको शिक्षालयबाटै हो। राम्रो, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि हामीले शैक्षिक क्षेत्रमा खर्च गर्नुपर्छ। अहिलेको खर्चलाई गुणात्मक रूपमा वृद्धि गर्नुपर्छ भन्ने विषयमा सरकारले छलफल थालेको छ। दुर्भाग्य! यतिबेला हाम्रो अर्थतन्त्र समस्यामा छ। पहिला अर्थतन्त्रलाई एउटा लयमा ल्याऊँ, ट्रयाकमा ल्याऊँ, त्यसपछि नयाँ ढंगले यसबारेका बहसहरूलाई संश्लेषण गरेर जे हामीले भोगेका छौँ, जुन यथार्थबोध हामीलाई भएको छ, जे ठीक लागेको छ, त्यो दिशामा जानेगरी हामीले कामलाई अघि बढाउनुपर्छ भन्ने सोच बनाएका छौँ। सरकारले यस्तो सोच बनाएको छ। 

राज्यले शिक्षा क्षेत्रमा गुणात्मक रूपमै लगानी वृद्धि गर्नुपर्छ। शिक्षालाई हामीले पूर्वाधारका पनि पूर्वाधारका रूपमा लिन जरुरी छ। अरु सबै पूर्वाधारभन्दा पनि मुख्य पूर्वाधार शिक्षा हो। भाषण बेस्सरी गर्ने, तर शिक्षामा लगानी गर्ने विषयमा कन्जुस्याइँ गर्‍यो भने हुँदैन। शिक्षामा गुणात्मक रूपमै लगानी वृद्धि गर्नुपर्छ भन्ने पक्षमा सरकार छ। अर्थतन्त्रलाई ट्र्याकमा ल्याएपछि हामी यो बहसलाई एउटा निष्कर्षमा पुर्‍याउने छौँ। 

तेस्रो कुरा- हामीले अहिले शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा स्थापित गर्ने रणनीति बनाउनुपर्छ। 

हिजो राजनीतिक क्षेत्रमा ठूलो संघर्ष गर्नु परेको थियो। त्यसमा के विद्यार्थी, के शिक्षक, सबैले आआफ्ना ठाउँबाट योगदान गरे। इतिहासको खासखास कालखण्डमा त्यो आवश्यक पनि थियो। तर, यतिबेला राजनीतिक रूपमा त्यो अवस्था छैन। आज शिक्षण संस्थामा गएर तालाबन्दी गर्ने, शिक्षक, शिक्षण संस्थाका पदाधिकारीहरूलाई कालोमोसो लगाउने, विद्यार्थी संगठनहरूले शिक्षण संस्थाको पठनपाठन सुधारका लागि पहल गर्ने, शिक्षण संस्थालाई देशको असल र सक्षम नागरिक उत्पादनको थलोका रूपमा विकास गर्नेभन्दा पनि शैक्षिक संस्थाहरूबाट पैसा असुल्ने परिपाटी छ। त्यस्ता प्रवृत्तिलाई पूर्ण रूपमा रोक्ने दृष्टिकोण अब सरकारले लिने छ। यस विषयमा हामी चाँडै एउटा छलफलको आयोजना गर्दै छौँ। त्यस प्रकारका सबै कामलाई बन्द गर्नेगरी सरकार अघि बढ्ने छ। तपाईंहरू सबैको सहयोग यसमा अपेक्षित छ। 

हामी नयाँ प्रकारको शिक्षा, गुणात्मक शिक्षा, सर्वसुलभ शिक्षा, मानवमुखी शिक्षाको अभियान थालनी गर्दै छौँ। त्यसका लागि सबैको सहयोग आवश्यक छ।

म यो जनता मावि परिवारलाई पनि भन्न चाहन्छु- तपाईंहरूको यो शैक्षिक सम्मेलनले १० वर्षे रणनीतिक योजना बनाउँदै छ। एउटा नमुना विद्यालय बनाउनाका निम्ति तपाईंहरूले पहल गरिरहनुभएको छ। 

साउन ११ गते महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक सम्मेलनमा विद्यार्थी।

तपाईंहरूले निर्माण गर्ने त्यो १० वर्षे रणनीतिक योजनामा विद्यार्थीलाई ध्यान अनिवार्य बनाउनु होला। हरेक कक्षामा विद्यार्थीबीच ध्यान अनिवार्य गर्ने योजना बनाउनुहोला। 

ध्यान भनेको वैज्ञानिक प्रक्रिया हो। ध्यानले मान्छेलाई आफूलाई चिन्न, सत्यको पक्षमा लाग्न, आफूलाई रूपान्तरण गर्न, शान्त रहन सिकाउँछ। त्यो ज्ञान ध्यानबाट प्राप्त हुन्छ। ध्यान स्वजागरणको प्रक्रिया हो। तर, ध्यानको स्वजागरणको ठाउँमा पुर्‍याउने विधि अनेक छन्। ध्यान विधिहरू छन्। नियमित रूपमा विद्यालयमा शिक्षक र विद्यार्थीहरूले ध्यान विधिको अभ्यास गर्नुहोला। ध्यानलाई यो विद्यालयमा लागू गर्नुहोस्, म आग्रह गर्न चाहन्छु। 

मैले केही दिनअघि मात्रै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि यस विषयमा कुराकानी गरेको छु। उहाँले पनि काठमाडौँ महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरूमा ध्यानलाई अनिवार्य गर्ने मेरो आग्रहलाई सकारात्मक रूपमा लिनुभएको छ। त्यसबारेमा काठमाडौं महानगरपालिकाले निर्णय गर्ने सम्भावना मैले देखेको छु। 

हामीले सरकारको नीति तथा कार्यक्रममा पनि ध्यानलाई महत्त्वपूर्ण कार्यक्रमका रूपमा समेटेका छौँ। यो बारेमा पनि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक साथीहरूले ध्यान दिनुहुनेछ भन्ने आशा मैले लिएको छु। 

(बिहीबार महोत्तरीको बर्दिबास-३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक सम्मेलनमा गृहमन्त्री श्रेष्ठले व्यक्त गरेको विचारको सम्पादित अंश।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .