ad ad

राजनीति


नेपालसँग सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक अमेरिकासँग बल्ल भयो परामर्श संयन्त्र बनाउने समझदारी

के काम गर्छ परामर्श संयन्त्रले ?
नेपालसँग सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक अमेरिकासँग बल्ल भयो परामर्श संयन्त्र बनाउने समझदारी

नेपालखबर
असोज १५, २०८१ मंगलबार १४:४७, काठमाडौँ

नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक अमेरिका र नेपालबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी भएको छ।

सोमबार अमेरिकी विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा समझदारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको हो।

समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकाका तर्फबाट राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले हस्ताक्षर गरेका हुन्।

अमेरिका नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने दोस्रो पुरानो मुलुक भए पनि द्वीपक्षीय परामर्श संयन्त्र भने निकै ढिला गरी स्थापना गर्ने समझदारी भएको हो।

अमेरिका र नेपालबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना पहिलो देश भने बेलायत हो। बेलायतसँग सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

अरु थुप्रै मुलुकसँग नेपालले परामर्श संयन्त्र बनाइसकेको भए पनि अमेरिकासँग भने कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षपछि मात्रै त्यस्तो समझदारी भयो।

के काम गर्छ संयन्त्रले?
परराष्ट्रमन्त्री डा राणाले संयन्त्र बनाउने सहमतिलाई ‘नेपाल र अमेरिकाबीचको सम्बन्धमा एक मत्वपूर्ण उपलब्धि’ भएको बताएकी छिन्।

द्विपक्षीय हितलाई थप प्रवर्धन गर्न यो संयन्त्रबाट सहयोग पुग्ने उनको विश्वास छ। 

प्रायः यस्तो संयन्त्रको नेतृत्व परराष्ट्र सचिवले गर्ने गरेका छन्। भारतसँग भने विदेशमन्त्रीस्तरीय संयुक्त आयोग पनि क्रियाशील छ। संयन्त्रको बैठक हरेक वर्ष आलोपालो गरेर दुवै देशमा बस्ने गर्छन्। 

परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार संयन्त्र स्थापना गर्ने समझदारीले नेपालको परराष्ट्र मन्त्रालयका र अमेरिकी विदेश मन्त्रालयका अधिकारीबीच आवधिकरुपमा छलफल गर्ने बाटो खुलेको छ। 

संयन्त्रमार्फत दुई देशबीच व्यापार, लगानी, पर्यटन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा सहयोग र समन्वय गर्नेबारे नियमित छलफल भएर टुंग्याउन सजिलो हुने बताइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .