ad ad

राजनीति


कोशीमा राप्रपालाई फकाएर १० दिनभित्रै विश्वासको मत लिने गठबन्धनको तयारी

सके सरकारमा नसके अन्य जिम्मेवारी दिइने
कोशीमा राप्रपालाई फकाएर १० दिनभित्रै विश्वासको मत लिने गठबन्धनको तयारी

नेपालखबर
साउन १६, २०८० मंगलबार २२:४, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले डेढ हप्ताभित्र विश्वासको मत लिने भएका छन्।

मंगलबार गठबन्धनका तीन दल र बहुमत ४७ सांसदको समर्थन लिएर मुख्यमन्त्री नियुक्त भएका थापाले छिटो विश्वासको मत लिने रणनीति बनाएका हुन्। 

‘जतिसक्दो चाँडो विश्वासको मत लिने समझदारी बनाएका छौँ,’ माओवादी दलका नेता इन्द्र आङ्बोले मंगलबार साँझ नेपालखबरसँग भने, ‘भोलिदेखी वार्ता र संवाद सुरु गर्नेछौं।’

गठबन्धनले ढुक्क हुन राप्रपाको सहयोग पाउने अपेक्षा गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काङ्ग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच यसबारे छलफल भएको थियो। 

लिङ्देनले राप्रपा कुनै सरकारमा सहभागी नहुने र तठस्थ बस्ने जवाफ दिएका छन्।

‘सकेसम्म सरकारमा सामेल गराउने कोसिस हुन्छ,’ आङ्बोले थपे, ‘संसदीय समिती सभापतीको जिम्मेवारी दिन पनि तयार छौँ, अझ सभामुख नै दिन पनि सकिन्छ।’

सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर गठबन्धनले कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न सफल भएपनि यसको खतरा भने अझै टरेको छैन।

मंगलबार प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

गठबन्धनले बहुमत पुर्‍याउन सभामुखको राजीनामा गराएको छ, संसदीय राजनीतिमा यो स्वस्थ्य पटक्कै होइन।

कुनै दलको नभई स्वतन्त्र रहनुपर्ने सभामुखलाई सत्ता पाउन जबरजस्ती दलमा आवद्ध गराउनुले भोलिका दिन गलत नजिर स्थापित गर्ने सामान्य बुझाइ गठबन्धनका दलले भुलेका छन्।

यसअघि असार २१ मा सभामुखको हस्ताक्षर लगेर गठबन्धनले उनै थापालाई मुख्यमन्त्री बनाएपनि सर्वोच्च अदालतले प्रक्रिया नमिलेको भन्दै नयाँ प्रकृया सुरु गर्न एक हप्ताको समय दिएको थियो।

सोही अनुसार गठबन्धनका तर्फबाट थापाले बहुमत संख्या  पुर्‍याएर मुख्यमन्त्री बनेका छन्। तर अब संसद चलाउने मुख्य व्यक्ति रिक्त छन्।

कोशी प्रदेशमा उपसभामुख सिर्जना दनुवार छिन्। सभामुख नभएको बेला संसद चलाउने जिम्मेवारी उनकै हुन्छ।

तर, गठबन्धनकै शैलीमा उपसभामुखले पनि राजीनामा दिए के होला? यो अर्को चुनौती हो। यद्यपि कोशी एमाले दलका नेता हिक्मत कार्कीले उपसभामुखले राजीनामा नदिने बताए।

कार्कीले यसो भनेपनि कोशी एमालेका नेताहरू उपसभामुखको राजीनामा जुनसुकै बेला आउन सक्ने बताउँछन्। गठबन्धनले चलाखी गरेपछि एमालेले पनि त्यही बाटो समाएको अवस्थामा कोशीको राजनीति थप पेचिलो बन्ने खतरा छ।

माओवादी दलका नेता आङ्बो उपसभामुखको राजीनामा  दिने कुरा कल्पना नगरेको बताउँछन्।

‘उहाँ पार्टीको कुरा सुनेर लाग्नुहोला भन्ने हामीले कहिले पनि सोच्न सक्तैनौं,’ उनले भने।

सभामुखको अनुपस्थितिमा उपसभामुखले संसद चलाउने गठबन्धनका नेताहरू बताउँछन्।

यदि एमालेले नयाँ रणनीति अख्तियार गरेर उपसभामुखललाई राजीनामा गराए त्यसबेला भने संसदको जेष्ठ सदस्यले संसद चलाउनुपर्ने हुन्छ।

कोशी प्रदेशमा सबैभन्दा पाका सांसद नेपाली काङ्ग्रेसका छन्। यही अप्ठेरो विश्लेषण गरेर गठबन्धन विश्वासको मत लिएर ढुक्क हुन खोजेको देखिन्छ।

गठबन्धनको रणनीति के हुन्छ केही दिन प्रतिक्षा गर्नुपर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .