ad ad

राजनीति


माओवादी केन्द्रीय सदस्यहरूको गुनासो- पार्टी विधिले चलेन, टाठाबाठा र धनीमानीसँग समय बिताइयो

वडा कमिटीदेखिकै नेतृत्व निर्वाचन प्रणालीबाट छान्नुपर्ने राय
माओवादी केन्द्रीय सदस्यहरूको गुनासो- पार्टी विधिले चलेन, टाठाबाठा र धनीमानीसँग समय बिताइयो

नेपालखबर
साउन १८, २०८० बिहिबार १८:२५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्यहरूले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबारदेखि काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन्। 

उनीहरूले पार्टीले बनाएको योजनाहरू कार्यान्वयन नहुने समस्या रहेको पनि बताएका छन्। बैठकस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताइन्। 

उनले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको बताइन्। सांगठनिक रुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। 

‘पार्टी संगठनलाई विधानसम्मत तरिकाले विधि, विधान अनुसार चलाउनुपर्नेमा जहिल्यैपनि विधान भत्किन्छ हाम्रो। महाधिवेशनमा नीति बनाउँछौ तर कार्यान्वयन गर्न जाने बेलामा त्यो नीति, विधि तत्किन्छ र सबैभन्दा मुख्य समस्या सांगठनिक रुपले, राजनीतिक, वैचारिक रुपले नेतृत्व गर्दागदै पनि हाम्रो एजेन्डा हुँदाहुँदै पनि सांगठनिक रुपले माओवादी पार्टी जहिल्यै चुकेको छ,’ उनले भनिन्, ‘विधि, पद्धती र प्रणालीमा लगेर चलाउन नै चुकेको छ। भद्रगोल, विधिसम्मत रुपले नचलेको भन्ने हाम्रो पार्टीको मुख्य समस्या छ । योजना बनाए अनुसार कार्यान्वयन नहुँदा समस्या। सुधारको पाटो, विधान अनुसार मेरो, तेरो नभनी फिल्डमा पठाउने।’

उनले अब वडा कमिटीदेखि नै चुनावबाट नेतृत्व छान्ने प्रणालीतर्फ जानुपर्ने बताइन्। ‘अब वडा, सेल कमिटीदेखि नै चुनावद्वारा नेतृत्व छान्ने प्रणालीतिर लैजानुपर्छ। जो फिल्डमा जान्छ त्यसले जनताको मन जितेर निर्वाचित भएर आउँछ,’ उनले भनिन्, ‘बनाएको विधानलाई कार्यान्वयन गरेर जान सक्नुपर्छ।’

अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताए। ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरुको बलमा पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने स्थिति बनाउनुपर्ने बताए। उनले माओवादी पार्टीजति विधानमा अरु कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नहुने बताए।

‘अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने। अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन। सिद्धियो झर्ने ठाउँ। अब उकालो लाग्ने। ०८४ सालमा पुग्दाखेरी अहिले सरकारले गरेका राम्रा कामहरुको बल, बुतामा पार्टी रुपान्तरण गर्ने, हामी अलिअलि सुध्रने र जनतातिर फर्किने,’ सापकोटाले भने, ‘०८४ मा पुग्दाखेरी पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने। जनताको हामीसँग विश्वास गुमेको छ। जनता रिसाएका छन्। रिसाएका जनताको मन खुसी बनाउने। ३ महिनाभित्र विधान सम्मेलन गर्ने।’ 

उनले माओवादी जति उदारवादी पार्टी संसारमा कुनै नभएको पनि दाबी गरे। ‘विधानमा हामीजति उदारवादी यो संसारमा कोही पनि छैन। हामी जतिबेला पायो त्यतिबेला बदल्दीन्छौँ। परिवर्तन गर्छौं। थपिदिन्छौँ। घटाइदिन्छौँ। अब आइन्दा नगर्ने भन्ने छ,’ उनले भने।

त्यस्तै, केन्द्रीय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरु तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रुपले उठिरहेको पनि बताए। त्यस्तै पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै उनले किसान र मजदुरको पार्टी बनाउनुपर्ने मत राखे।

‘वक्ताहरुले भनिरहनुभएको छ, म पनि दोषी हुँ। पार्टीको संगठन राम्रो भएन। जनतामा हामी कम गयौँ। टाठाबाठा, जान्नेसुन्ने, धनिमानी, हुनेखानेहरूमा बढी समय बितायौँ। शहरिया, बजारिया भयौँ। ग्रामिण जीवनमा गएनौँ। किसान, मजदुर, श्रमप्रति हामीले ध्यान दिएनौँ,’ बिँडारीले भने, ‘समाजवादउन्मुख कार्य हामीले गर्न सकेनौँ। यो कुरा चाँडै गर्नुपर्‍यो भन्ने कुरा छ। एउटा कुरा जोडदार रुपले उठेको छ, अब अधिकांश पदहरू चुनावबाट आउनुपर्‍यो। चुनावबाट आउनुपर्‍यो भने कार्यकर्ता गाउँमा पनि जान्छन्। बाध्य भएर जान्छन्। गाउँबाट भोट जितेर आउनुपर्‍यो नि।’ 

अर्का केन्द्रीय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिहरूलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताए। सरकारको कामले जनतालाई आशा जघाएको भन्दै यसलाई जनतामा लाने कुरामा कमजोरी रहेको पनि उनले बताए। 

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै केन्द्रीय सदस्य केशवराज कुँवरले नेताहरूको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए। उनले पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरूले सामूहिकतामा विश्वास गर्नुपर्ने पनि बताए।

केन्द्रीय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलहरुप्रति आशंका र अविश्वासहरू पैदा भइरहेको अवस्थामा पार्टीलाई रुपान्तरण गरेर अगाडी बढ्नुपर्ने बताइन्।

उनले पार्टी अध्यक्षले पार्टीलाई रुपान्तरण गर्दै अगाडी बढाउनेमा विश्वास व्यक्त गरिन्।

केन्द्रीय सदस्य युवराज चौलागाईंले यो केन्द्रीय समिति बैठकले पार्टीभित्र देखापरेका संगठनात्मक गतिरोधलाई अन्त्य गर्ने बताए। 

बैठकले विधान अधिवेशनको मिति तय गर्ने र केही समयभित्रै विशेष महाधिवेशनमा जानेगरी आधार तयार गर्ने उल्लेख गरे। 

केन्द्रिय सदस्य टेकबहादुर शाक्यले सुन तस्करी लगायतका भ्रष्टाचार काण्डमा पार्टी भित्रैका मान्छेहरुको संलग्नता भेटिए पनि सरकारले कारबाही गर्नुपर्ने बताए। बैठकमा भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम बन्नुपर्छ भन्ने कुरा आएको उनको जानकारी दिए।

‘सरकारले भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा गतिलो ढंगले दोषिलाई कारबाही गर्ने काम गरिरहेको छ, पार्टीभित्र वा बाहिरका हुन जो सुकै हुन्। त्यसलाई निर्मम ढंगले कोच्नुपर्छ,’ उनले भने, ‘यो टड्कारो रुपमा उठेको छ। यदी माओवादीका नेताहरू भएपनि यस्ता सुन काण्डहरूमा गिरोहलाई साथ दिने लाई निरुत्साहित पार्नुपर्छ। कोही मुछिएको खण्डमा जनताले देखिने गरी कारबाही प्रक्रिया अगाडी बढाउनुपर्छ र निष्पक्ष रुपमा छानबिन हुनुपर्छ।’

केन्द्रीय सदस्य शाक्यले पार्टीका नेताहरू भ्रष्टाचारमा संलग्न भएको पाए जनताले देख्नेगरी कारबाही प्रक्रिया अगाडी बढाउनुपर्ने र निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने माग गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .