राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा ‘मोबाइल क्लिनिक’ का नाममा चलाएको एम्बुलेन्सबारे विवाद भएपछि केही दिनमै पुरानो मेडिकल कलेजलाई फिर्ता गरिएको छ।
चितवन २ मा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा स्वास्थ्योपचार गर्ने घोषणासहित सञ्चालित एम्बुलेन्स शनिबार पुरानो मेडिकल कलेजलाई फिर्ता गरिएको हो।
लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको १०० दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंग लगाएर साउन १७ गतेदेखि मोबाइल क्लिनिक चलाउने घोषणा गरेका थिए।
तर यातायात व्यवस्था विभागको अनुमति नलिई गैरकानुनी रुपमा रंग परिवर्तन गरेको पाइएपछि रविको यो कदम विवादमा परेको थियो।
भारतीय दूतावासले दिएको ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ बनाएको भन्दै विवाद भएको हो। त्यसपछि ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फर्काइएको हो
राष्ट्रिय स्वतन्त्र पार्टी बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले एम्बुलेन्स फिर्ता गरिएको बताए।
उक्त एम्बुलेन्सको विकल्पमा अर्को भ्यान ल्याएर मोबाइल क्लिनिक चलाउने उनले बताए।
उक्त एम्बुलेन्स ११ वर्षअगाडि भारतीय दूतावासले पुरानो मेडिकल कलेजलाई दिएको थियो।
उक्त एम्बुलेन्स लामो समयदेखि नवीकरण भएको थिएन। गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरेपछि मोबाइल क्लिनिकका प्रयोगमा ल्याएका थिए।
रविको मोबाइल क्लिनिकका लागि चिकित्सकसहितको जनशक्ति पनि पुरानो मेडिकल कलेजले नै दिएको थियो।
Shares
प्रतिक्रिया