नेकपा एकीकृत समाजवादी पार्टीनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सम्मानित नेता झलनाथ खनाललाई राजनीतिबाट विश्राम लिन सुझाव दिएका छन्।
काठमाडौंमा जारी स्थायी समिती बैठकमा खनालले पार्टीले एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि गर्न नसकी दिनदिनै कमजोर बन्दै गएको बताएपछि पराजुलीको यस्तो जवाफ आएको हो।
उनले एकीकृत समाजवादी नेपालको कम्युनिष्ट आन्दोलन र समाजवादको श्रीगणेश भएको बताउँदै खनालको निराशावादी प्रतिवेदनप्रति कटाक्ष गरेका हुन्।
खनालले पहिले जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापति टाउको जस्तो देख्ने र भन्ने गरेको पराजुलीले स्मरण गराएका छन्।
‘अहिले - लामो समयपछि फेरि शीर्षभन्दा शीर्ष ठाउँमा बसेर आफूले नै निर्माण गरेको आन्दोलन र पार्टीलाई रावणको टाउको देख्न र भन्न थाल्नुभयो यस्तो खाले दृष्टिभ्रम कहिले सम्म रहन्छ?’, उनले भनेका छन्, ‘कहिलेकाहीँ संघीयता (प्रदेश नामाकरण) बारे तपाईंले लेखेको दस्तावेजबारे तपाईंलाई कहिलेकाहीँ के हुन्छ भनेर जनता र आमकार्यकर्ताले प्रश्न गर्ने गरिरहेका छन्।’
उनले अहिलेको समयमा खनालले राजनीतिक विश्राम लिनुपर्ने पनि बताएका छन्। ‘समयको माग के छ भने तपाईंलाई सम्मानमाथि उच्च सम्मान छ। राजनीतिबाट अब विश्राम लिनुहोस्’, पराजुलीले भनेका छन्, ‘जनताले सम्मानका साथ विश्राम लिन जनादेश दिएका छन, यो जनमतलाई नभुल्नु होला।’
पराजुलीले समाजवादी यात्राका लागि युवालाई स्थान छोडिदिन पनि खनाललाई भनेका छन्। ‘राजनीति पद प्राप्ति मात्रै हो भन्ने खाल्को भाष्य निर्माण हुदैँछ, यसको गतिलो जवाफ अब तपाईँले दिनुहोस्’, उनले भने, ‘सदैव मूल नेतृत्वप्रतिको अविश्वास र फरक देखिने प्रवृत्तिले तपाईँको सम्मानित मर्यादालाई अधोगति लगाएको छ।’
Shares
प्रतिक्रिया