नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले साउन ३ गते त्रिभुवन विमानस्थल हुँदै भित्रिएको एक क्विन्टल अवैध सुन प्रकरणमा सत्तामा रहेका मान्छेहरुको मिलेमतो रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।
‘क्विन्टल सुन सत्ताको मिलेमतो र संलग्नताबिना आउँदैन। यसबारे छानबिनका लागि सर्वोच्चका न्यायाधीश नेतृत्वमा बनाऊँ, बरु सीआईबी पनि राखौँ’, उनले भने, ‘त्यसो नभए पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समिति बनाऊँ। उच्चस्तरीय छानबिन समिति गठन गरियोस्।’
उनले नेकपा एमालेले उठाउँदै आएको उच्चस्तरीय समितिको माग जायज भएको पनि बताए।
‘आजको संसदीय दलको बैठकमा पनि उच्चस्तरीय समिति बनाएर त्यसले दिने रिपोर्ट संसद्मा प्रस्तुत गरियोस् भनेको छु’, उनले भने, ‘रेडी ट्रेडले २२ पटक बढीमा २ हजार केजी सुन ल्याउँदा सरकारका मान्छेको मिलेमतो छ। त्यसैले उच्चस्तरीय समिति बनाऊँ।’
Shares
प्रतिक्रिया