ad ad

राजनीति


उच्चस्तरीय छानबिन समिति बनाउने मागबाट एमाले पछि हट्दैन : महेश बर्तौला

उच्चस्तरीय छानबिन समिति बनाउने मागबाट एमाले पछि हट्दैन : महेश बर्तौला

नेपालखबर
भदौ ५, २०८० मंगलबार १७:५१, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने बताएका छन्।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले चाहेको भए आज नै संसद अवरोध खुल्न सक्ने भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण संसद खुल्न नसकेको बताए। 

‘एमाले संसद सुचारु हुनुपर्छ भन्ने पक्षमा नै छ तर प्रमुख प्रतिपक्षले उठाएको माग उपयुक्त छैन भनेर सरकार अटेर गरेर बसेको छ। हामीले यो माग उठाइरह्यौँ। हिजो बैठकमा एक प्रकारको उच्चस्तरीय छानबिन समिति बनाउन तयार छौँ भनेर भनेको छ,’ बर्तौलाले भने, ‘आज तीन जनाको टिम बनाइएको थियो, त्यसपछि बैठक बोलाइएको थियो, हाम्रो अध्यक्ष ज्युको स्वास्थ्य समस्या पनि भयो, आज त्यो बैठकमा सहभागी हुने स्थिति भएन तर सरकारले चाहेको हुन्थ्यो भने नेकपा एमालेका अन्य नेताहरु सिंहदरबारमै हुनुहुन्थ्यो, सरकार पक्ष आजै तयार भएको हो भने राम्रो हुन्थ्यो।’

सरकार उच्चस्तरीय छानबिन समिति बनाउनका लागि बनिरहेको माहोल बिगार्न लागेको आरोप लगाउँदै सरकारले तस्करहरुको संरक्षण गरिरहेको पनि उनले बताए।

‘सरकार परिस्थिति बिगार्न लाग्दैछ। उच्चस्तरीय छानबिन समिति बनाउनका लागि एमालेका अध्यक्ष बाहेकका अरु नेता पनि थिए। उच्चस्तरीय छानबिन समिति निर्माण नभइकन यो मागबाट नेकपा एमाले पछि हट्दैन,’ उनले भने, ‘तस्करको संरक्षण गर्ने सरकारको जे कार्यशैली छ, यसको बिरोध कायम राखिरहन्छौँ। यसमा सरकार पूरा गर्ने प्रतिवद्धताका साथ ओर्लिएको छ।’

सचेतक बर्तौलाले सरकारले गलत बाटोतर्फ राष्ट्रपतिलाई परिचालित गर्दै गइरहेको आरोपसमेत लगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .