ad ad

राजनीति


राप्रपामा विवाद बढ्दै गर्दा राजतन्त्र पुन:स्थापनको एजेन्डामा फर्किए कमल थापा

राप्रपामा विवाद बढ्दै गर्दा राजतन्त्र पुन:स्थापनको एजेन्डामा फर्किए कमल थापा

राप्राप नेपालको बैठक। तस्बिर : राजाराम बर्तौला


नेपालखबर
भदौ ८, २०८० शुक्रबार १३:११, काठमाडौँ

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आफूलाई राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको अभियानमै फर्काएको छ।

काठमाडौंमा दुई दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकमा राजनीतिक दस्तावेज पेस गर्दै अध्यक्ष कमल थापाले पार्टीलाई राजसंस्थान पुनर्स्थापनाको एजेन्डामै औपचारिक रुपमा फर्काएका हुन्।

राजेन्द्र लिङ्देन नेतृत्वक राष्ट्रिय प्रजातन्त्र पार्टीमा पछिल्लो समय विवाद बढ्दै गर्दा थापाले आफूलाई राजसंस्थाको पक्षमा फर्काएर त्यहाँको जनमत पनि तान्ने कोसिस गरेका छन्। 

राप्रपामा अन्य नेताहरुले पछिल्लो समय अध्यक्ष राजेन्द्र लिङ्देनलाई घेराबन्दी बढाइरहेका छन्। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य नेताहरु प्रकाशचन्द्र लोहनीसहित लिङ्देनसँग असन्तुष्ट देखिएका छन्। 

थापाले विगतमा पार्टीको एजेन्डा राजासंस्था नरहे पनि देशको वर्तमान अवस्था र पार्टीका सहयोगी र शुभचिन्तक र आम कार्यकर्ताको भावनालाई समेट्दै राजसंस्थासहितको प्रजातन्त्र राप्रपा नेपालको मुख्य एजेन्डा हुने दस्तावेजमाा उल्लेख गरेका छन्। 

उनले संघीय गणतन्त्रको नाउँमा हाल कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य भएपछि कायम गरिने राज्य व्यवस्थाको मूलभुत व्यवस्था जनतामा निहीत सार्वभौम सत्ता, राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार युक्त प्रधानमन्त्री, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, समावेशी र समानुपातिक मान्यता, उदार आर्थिक व्यवस्था र सुशासन हुने बताए।

‘संघीय गणतन्त्रको नाउँमा हाल कायम रहेको भ्रष्ट व्यवस्था अन्त्य भएपछि कायम गरिने राज्य व्यवस्थाको मुलभुत व्यवस्था जनतामा निहीत सार्वभौम सत्ता, राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार युक्त प्रधानमन्त्री, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, समावेशी र समानुपातिक मान्यता, उदार आर्थिक व्यवस्था र सुशासन हुनुपर्छ भन्ने राप्रपा नेपालको धारणा छ’, उनले भने, ‘राजनीतिलाई स्वच्छ तुल्याउन विद्यमान निर्वाचन प्रणाली आम सुधार आवश्यक छ। विगतमा पार्टीको एजेन्डा राजासंस्था नरहे पनि देशको वर्तमान अवस्था र पार्टीका सहयोगी र शुभचिन्तक र आम कार्यकर्ताको भावनालाई समेट्दै राजसंस्थासहितको प्रजातन्त्र राप्रपा नेपालको मुख्य एजेन्डा रहनेछ। राजसंस्था पुनः स्थापनाको एजेन्डा पार्टीले महत्वपूर्ण एजेन्डाको रुपमा अघि बढाउनेछ।’

उनले प्रदेश संरचनाले आफ्नो औचित्य स्थापित गर्न नसकेकाले संघीयताको नाममा कायम रहेको प्रदेश स्तरीय संरचना तत्काल खारेज हुनुपर्ने बताए।

यसअघि २०७९  असार २० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले हाललाई राजसंस्था पुनःस्थापना राप्रपा नेपालको कार्यनीतिक एजेण्डा नहुने निर्णय गरेको थियो। 

शतप्रतशित राजावादी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक मामिलामा पटकपटक राजाको नाममा दरबार-निर्मल निवासबाट हस्तक्षेप हुनथालेपछि राजा दलीय राजनीतिभन्दा माथि रहने तथा राजा सबैको साझा भन्ने मान्यतामा गम्भीर आघात पुगेको भन्दै थापाले यस्तो निर्णय लिएका थिए।

थापाले देशको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै तथा पार्टी कार्यकर्ता, सहयोगी, शुभचिन्तकहरुको भावनालाई सम्मान गर्दै राजसंस्था पुनःस्थापनालाई कार्यनीतिक एजेण्डा नबनाउने विगतको अडानलाई पुनरावलोकन र पुनर्विचार गर्ने निर्णय गरिएको दस्तावेजमा लेखेका छन्। 

‘यही परिप्रेक्ष्यमा ‘जनसम्प्रभुता, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रा’सहितको सनातन हिन्दुराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र सुशासन राप्रपा नेपालको मुख्य एजेण्डा हुनेछ’, थापाले दस्तावेजमा भनेका छन्। 

२०६३ सालमा राजासहितको प्रजातन्त्रको मुल विचारलाई बोकेर राप्रपा नेपालको स्थापना भएको थियो। २०७८ सालमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पुनर्जागृत गरेको राप्रपा नेपालले राजसंस्था पुनःस्थापनालाई पार्टीको कार्यनीति बनाएको थिएन।

अब संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र समेत राप्रपा नेपालको मुलभूत विचार हुने थापाले बताए। राजसंस्थाको पुनःस्थापना राप्रपा नेपालको मुख्य कार्यनीतिक एजेण्डामध्ये एक हुने उनले लेखेका छन्। 

‘नेपालको सन्दर्भमा राजसंस्था र प्रजातन्त्र वा राष्ट्रियता र जनतामा निहित सार्वभौमसत्ता एक अर्काका परिपुरक हुन्’, उनले भनेका छन्, ‘यसरी राजासहितको प्रजातन्त्रको विचार र मान्यताको मुख्य संवाहक भएको हुँदा आफ्नो मौलिक राजनीतिक विरासतको रक्षाका लागि राप्रपा नेपालले राजसंस्था पुनःस्थापनालाई मुख्य राजनीतिक एजेण्डा बनाउने निर्णय गरेको हो।’

थापाले सनातन धर्म वा हिन्दुराष्ट्रको मान्यता नेपाली पहिचान र एकताको बलियो आधार भएको बताएका छन्। 

‘हिन्दुराष्ट्रको कुरा उठाएर राप्रपा नेपालले कुनै एक धर्म अर्थात हिन्दु धर्मलाई मात्र राज्यले विशेष संरक्षण र सुविधा दिनुपर्छ भन्ने माग गरेको होइन। हिन्दु धर्मको आधारमा कानुन बन्नुपर्छ वा शासन संचालन हुनुपर्छ भन्ने होइन’, उनले भनेका छन्, ‘धार्मिक राज्यको वकालत गरेको होइन। हामी सबै प्रकारका धार्मिक अतिवादको विपक्षमा छौँ। राप्रपा नेपाल सबै धर्मको सम्मान गर्छ। सबै धार्मिक सम्प्रदायलाई बराबरीको अधिकार र स्वतन्त्रता हुनुपर्छ, सबैधर्म प्रति सद्भाव कायम राख्नुपर्छ। सबै धर्मसँग सहकार्य गर्नुपर्छ भन्ने मान्यता हो। तर, राप्रपा नेपाल संगठित धर्मान्तरणको विपक्षमा रहेको छ।’ 

दस्तावेज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .