पार्टी विभाजन भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकअर्काप्रति क्रुद्ध छन्।
अक्सर भाषण गर्दा दुवै नेताले एकअर्कालाई कटु शब्दमा आलोचना गर्दै आएका छन्। अझ यसमा नेपालको तुलनामा ओली नै अघि छन्।
एमाले विभाजनपछि यी दुई शीर्ष नेता एउटै सार्वजनिक मञ्चमा हत्तपत्त सँगै देखिन चाहँदैनन्। सकेसम्म एकअर्कासँग छलिने प्रयास दुवै नेताले गर्दै आएका छन्।
तर, सोमबार भने यी दुई नेता एउटै मञ्चमा हार्दिकतापूर्ण ढंगले सँगै बसेको देखिएको छ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा ओली र नेपाल सँगै बसेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
अझ ती तस्बिर ओली आफैँले पनि सामाजिक सञ्जालमा सेयर गरेका छन्।
माधव नेपालसँग बसेको तस्बिर सार्वजनिक गर्दै ओलीले लेखेका छन्, ‘आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर, शुभसन्ध्या।’
ओलीले सामाजिक सञ्जालमा राखेका तस्बिरमा दुवैजना हँसिलो मुद्रामा देखिन्छन्। ओली आफैँले माधव नेपालसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ।
Shares
प्रतिक्रिया