नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले गठबन्धन परिवर्तन गर्ने कांग्रेसको कुनै मनसाय नरहेको बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन बनाउने नाममा कांग्रेसले आफ्ना मूल्य र मान्यतामा सम्झौता नगरेको बताएका हुन्।
उनले भने, ‘कांग्रेसको पूर्ण समर्थन सरकारलाई छ, त्यो मूल्य र मान्यताभन्दा बाहिर जाने हो भने कांग्रेसको जुन नेतालाई फकाए पनि गठबन्धन टिक्दैन।’
कांग्रेसका केही आधारभूत मूल्य र मान्यता भएको भन्दै उनले त्यो आधारभूत मूल्य र मान्यताभन्दा बाहिरबाट सहयोग खोज्न नहुने बताए।
नेपाली कांग्रेसले भ्रष्टाचारका विषय लुकाउनु पर्छ भनेर कहीँ नबोलेको उनको भनाइ थियो।
उनले भने, ‘केन्द्रीय समितिको बैठकमा समेत यो विषयमा निर्णय गरेका छौं।’ भ्रष्टाचार नियन्त्रणका विषयमा पार्टीले गृहमन्त्री र प्रहरीलाई कुनै पनि किसिमको दबाब नदिएको उनले स्पष्ट पारे।
उनले भने, ‘अनुमानको भरमा कसैलाई आरोप लगाएर हिँड्नु हुँदैन। कांग्रेस पार्टीले निर्णय नै गरेको छ।’
सरकारको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस भएको दोहोर्याउँदै उनले भने, ‘कांग्रेसले नचाहँदा न सरकार रहन्छ, न कुनै काम अघि बढ्न सक्छ। कांग्रेसको चाहना विपरीत भयो भन्नु झुट्टा प्रचार हो।’
कांग्रेस पार्टीका जुनसुकै पदमा भएको व्यक्ति भए पनि छानबिनको दायरामा आउने बताउँदै उनले प्रश्न गरे, ‘अर्को पार्टीको मान्छे खोई त रु मान्छेको हैसियत, कद हेरेर जोगाउने काम भएको छ भने जोगाउने काम अर्को पार्टीले गरिरहेको छ। कांग्रेस त्यता लागेको छैन।’ रासस
Shares
प्रतिक्रिया