ad ad

राजनीति


एमसीसी मुठ्ठीभर सांसदहरूले पारित गरे, जनताले कार्यान्वयन हुन दिँदैनन् : केसी

एमसीसी मुठ्ठीभर सांसदहरूले पारित गरे, जनताले कार्यान्वयन हुन दिँदैनन् : केसी

नेपालखबर
भदौ १३, २०८० बुधबार १९:३७, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई चीनविरोधी अखाडा बनाउन अमेरिकाले जबर्जस्ती एमसीसी भिडाएको बताएका छन्।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयन भएकै दिन बिहीबार विरोध सभामा बोल्दै केसीले अमेरिका र चीनबीचको द्वन्द्वमा नेपाललाई जबर्जस्ती अमेरिकाको क्याम्पमा धकेलिएको बताए।

केसीले एमसीसी जस्तो सम्झौतालाई संसदबाट ध्वनिमतले पारित गर्नु आपत्तिजनक भएको बताए।

‘मलाई अहिले पनि झलझली त्यति बेलाको याद आइरहेको छ’ उनले भने, ‘ल हेर्नुस त, एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित गर्ने ध्वनिमतबाट। त्यसका लागि हस्ताक्षर गर्नुनपर्ने, सांसदहरूको रेकर्ड राख्नुनपर्ने।’

केसीले अमेरिकी साम्राज्यवादलाई खुसी पार्न मुट्ठिभर सांसदहरूले एमसीसी पारित गरेको भए पनि नेपाली जनताले पारित नगरेको दाबी गरे।

उनले भने, ‘नेपाली जनताले एमसीसी पारित गरेका छैनन्। त्यसैले यसलाई नेपाली जनताले कार्यान्वयन पनि गर्न दिने छैनन् भन्नेमा राष्ट्रिय जनमोर्चा ढुक्क छ।’

राजधानीको शान्तिवाटिकामा भएको सो कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले चीनलाई चिढाउन एमसीसी अगाडि सारिएको बताए।

‘तपाईंहामीलाई थाहै छ त, एमसीसी चीनलाई चिढ्याउनका लागि ल्याइएको हो’ उनले भने, ‘दुःखको कुरो यो भयो, अमेरिकी साम्राज्यवाद र चीनको विरुद्धमा चर्को अन्तरविरोध छ तर त्यसको मारमा हामी पर्ने भयौँ ।’

उनले एमसीसीलाई नेपालले स्वीकारेपछि चाहेर वा नचाहेर नेपाल आफ्नै छिमेकी चीनको विरुद्धमा जानुपर्ने अवस्था उत्पन्न भएको बताए।

कार्यक्रमलाई जनमोर्चाका उपाध्यक्ष एवम् पूर्व सांसद दुर्गा पौडेल, पूर्व सांसद हरि आचार्य, सचिव हिमलाल पुरी, राष्ट्रिय सभा सदस्य तुलबहादुर विश्वकर्मा (राजेश विक), अखिल (छैठौंका अध्यक्ष देवेन्द्र कुँवरलगायत नेताहरुले सम्बोधन गरेका थिए।

एमसीसीको सुरुदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले एमसीसी कार्यान्वयनका दिन देशब्यापी विरोध सभा गरेको छ।

राजधानी काठमाडौंसहित बुटवल, पोखरा, प्युठान, बागलुङ, दाङ, कैलालीलगायत जिल्लामा राजमोले प्रदर्शन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .