ad ad

राजनीति


०८४ मा बहुमत ल्याउन वडादेखि नै संगठन बलियो बनाऔं : महत

‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’
०८४ मा बहुमत ल्याउन वडादेखि नै संगठन बलियो बनाऔं : महत

नेपालखबर
भदौ १८, २०८० सोमबार २०:२५, काठमाडौँ

अर्थमन्त्री डा प्रकाशशरण महतले महिला सहभागिताले पार्टी सङ्गठन विस्तारमा प्रभावकारी भूमिका खेल्नसक्ने बताएका छन्। 

नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई आज पोखरामा सम्बोधन गर्दै उनले पार्टी सङ्गठन विस्तारमा पुरुषभन्दा महिलाले नै प्रभावकारी भूमिका खेल्न सक्ने बताए।

लामो समयदेखि पार्टीका संरचना  निर्माण हुन नसकेको स्वीकार गर्दै उनले भने, ‘आउँदो निर्वाचनमा बहुमत हात पार्न पार्टी सङ्गठन वडा तहदेखि नै बलियो हुन जरुरी छ।’ पार्टीका संरचनाहरू छिट्टै गठन गरिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

‘नेपाली कांग्रेसका कार्यकर्ताले एकअर्काको अस्तित्व स्वीकार गरी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन, संस्था बलियो भयो भनेमात्र हामीले विजय प्राप्त गर्न सक्छौँ’, नेता महतले भने, ‘नेपाली जनता र पार्टीको हितलाई केन्द्रविन्दुमा राखेर हिँड्नुहोस्।’

नेपाली जनताको चाहना पूरा गर्ने कार्यमा वर्तमान सरकार सक्रिय रहेको उनको भनाइ थियो। सीमित स्रोत र साधनबीच जनताका चाहना पूरा गर्ने प्रयासमा रहेको चर्चा गर्दै मन्त्री महतले विभिन्न समस्याकै कारण सोचेअनुसार विकास निर्माण कार्यले गति लिन नसकेको स्वीकार गरे।

सरकारका नकारात्मक कुरामात्र नभएर सकारात्मक कुराको पनि प्रशंसा गरिदिन अग्रह गर्दै उनले जनताले सोचेअनुसार काम गर्न नसके पनि सरकार जनताकै हितमा काम गरिरहेको उल्लेख गरे।

प्रजातन्त्रपछि देशमा सडक, सञ्चार, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउँदै मन्त्री महतले भने, ‘अब सरकारले गाउँगाउँका सडक बाह्रै महिना सञ्चालनमा आउन सक्ने गरी काम गर्नेछ।’

राजनीतिक अस्थिरता, भूकम्प, कोरोना, युक्रेन–रसिया युद्धका कारण थला परेको नेपाली अर्थतन्त्रले बिस्तारै लय लिन थालेको मन्त्री महतको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .