ad ad

राजनीति


मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरू अहिले पनि क्रियाशील छन् : ओली

मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरू अहिले पनि क्रियाशील छन् : ओली

नेपालखबर
भदौ २३, २०८० शनिबार १७:१७, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरू अहिले पनि क्रियाशील रहेको बताएका छन्। 

जात/जात, वडा÷वडा, पालिका÷पालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाइ थियो।

तिजको अवसर पारेर पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले हाम्रा चाडपर्वहरूसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद् नभएको पनि बताए। 

‘सबै जातका, सबै थरका, बाटो वारीका, बाटो पारीका, खोला वारीका, खोला पारीका, डिल वारीका, डिल पारीका, एउटा वडाका, अर्को वडाका, एउटा पालिका र अर्को पालिकाका मान्छेहरूसँगै बसेर किन रमाएको होलान्। यसमा पीर गर्नेहरू पनि छन अहिले। र, साम्प्रदायिक विद्वेष फैल्याउने तत्वहरू पनि छन्,’ उनले भने।

अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सदभाव कायम गर्नु रहेको उल्लेख गर्दै त्यसले सबै समुदायमा निकटता ल्याउने माध्यामको रुपमा काम गरिरहेको पनि स्मरण गराए। 

‘हाम्रो हरेक चाडका पछाडि विशेष अर्थ, विशेष महत्व छ। त्यसको एउटा धार्मिक पक्ष होला। धार्मिक पक्षको रुपमा त्यसलाई विकास गरिएको होला। एउटा परम्परागत हिसावले विकास गरिएको होला,’ उनले भने, ‘अर्को चाडपर्वको रुपमा विकास गरिएको होला। यसको अन्तर्य चाही के हुन्छ, सारतत्व चाहीँ के हुन्छ? भने सामाजिक सुप्रबन्धलाई, सामाजिक व्यवस्थालाई अझ राम्रो बनाउनु हो।’

तिज पर्वले महिलाहरुमा सबैभन्दा बढी खुशीयाली ल्याएको भन्दै उहाँले त्यसो हुनु सबैका लागि खुशीको कुरा भएको पनि बताए।

‘दशैँको अर्थ पनि त्यही हो, तिहारको अर्थ पनि त्यही हो। दशैंमा नातागोता, आफन्त मान्यजन कहाँ पुग्नैपर्छ। आर्शिवाद लिनै पर्छ। त्यसकारण ६ महिनाको छुट्टी लिएर घर आउँथे लाहुरेहरू दशैँमा,’ ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले चाडपर्वहरुलाई नेपालीहरुले उत्सवको रुपमा मनाउने गरेको र त्यसले सामाजिक प्रवन्धहरुलाई व्यवस्थित बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताए।

‘चाडको अर्थसँग त्यस्ता सोचहरू ठ्याम्मै मिल्दैनन्। किनभने चाडको अर्थ सामाजिक सदभाव कायम गर्नु हो। सामाजिक निकटता कायम गर्नु हो। सबै मिलेर रमाउनु हो,’ ओलीले भने, ‘साझा जात्रा, साझा चाड, साझा पर्व, साझा खुशीयाली, साझा उत्सव त्यो मनाउनु हो। हामी त्यसैगरी आज मनाउँदैछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .