आगामी बिहीबार केन्द्रीय कार्य समितिको बैठक बस्ने भएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले इत्तर समूहको बैठक बोलाएका छन्।
आफ्नो सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजे बस्ने गरी उनले इत्तर समूहको बैठक बोलाएका हुन्।
एकजना नेताका अनुसार यो बैठकका लागि महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रतिस्पर्धी प्रदीप पौडेललाई पनि निम्तो दिइएको छ।
महामन्त्री शर्मा नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको प्यानलबाट उठेका थिए। सिंह अहिले सभापति शेरबहादुर देउवाको क्याम्पमा छन् भने शर्मा इतर समूहसँग निकट छन्।
शर्माले यसअघि कांग्रेस संसदीय दलको निर्वाचनमा इतर समूहमा रहेका अर्का महामन्त्री गगनकुमार थापालाई सघाएका थिए।
उता पौडेलले पनि चौधौँ महाधिवेशनमा तेस्रो धारका रुपमा रहेको कृष्णप्रसाद सिटौलाको तर्फबाट प्रतिस्पर्धा गरेका थिए। सिटौला समूहले सभापति देउवा समूहसँग मिलेर महाधिवेशनमा भाग लिएको थियो।
पार्टी केन्द्रीय कार्यसमितिमा इतर समूहबाट एक भएर प्रस्तुत हुने रणनीतिसहित कोइरालाले उक्त बैठक बोलाएका हुन्। कोइरालाको निम्तो स्वीकारेमा महामन्त्री शर्मा र नेता पौडेल पहिलो पटक इतर समूहको औपचारिक बैठकमा सहभागी हुनेछन्।
यो बैठकमा इतर समूहका सबै नेताहरुलाई निम्तो दिइएको छ। यो बैठकमा शर्मा र पौडेलको समेत सुझावका आधारमा समूहले केन्द्रीय कार्यसमिति बैठक र भावी रणनीति तय गर्ने भएको छ।
केन्द्रीय कार्यसमिति बैठक बोलाइएपछि इतर समूहका नेता अर्जुननरसिंह केसीको आयोजनामा नेताहरुबीच केही दिनअघि छलफल भएको थियो।
उक्त बैठकपछि केन्द्रीय सदस्य बलबहादुर केसीले महामन्त्री शर्मा र नेता पौडेलसँग संवाद गरेका थिए। उक्त संवादपछि शर्मा र पौडेल दुवैलाई सहभागी गराउने गरी शेखरले बैठक बोलाएका हुन्।
Shares
प्रतिक्रिया