ad ad

राजनीति


राजेन्द्रलाई शेरधनको प्रस्ताव : कोशी सरकारमा आलोपालो गरौँ, हिक्मतलाई विश्वासको मत दिनुस्

राजेन्द्रलाई शेरधनको प्रस्ताव : कोशी सरकारमा आलोपालो गरौँ, हिक्मतलाई विश्वासको मत दिनुस्

फाइल तस्बिर


नेपालखबर
असोज १, २०८० सोमबार १८:१८, काठमाडौँ

कोशी प्रदेशका दुईजना पूर्वमुख्यमन्त्रीहरु शेरधन राई र राजेन्द्र राईबीच धरानमा भेटवार्ता भएको छ।

भोजपुर गृहजिल्ला रहेका दुई नेताबीच धरानको एक होटलमा आइतबार राति भएको भेटवार्तामा कोशी प्रदेश सरकारलाई लिएर छलफल भएको स्रोतले जनाएको छ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन र एकीकृत समाजवादीका सचिव राजेन्द्रबीच धरानको किचन होटलम भएको वार्ताका क्रममा कोशीको वर्तमान सरकाराबरे छलफल भएको स्रोतले जनाएको छ।

उक्त भेटका क्रममा शेरधनले राजेन्द्रलाई एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको सरकारलाई अहिले समर्थन गरेर त्यसपछि मुख्यमन्त्री बन्न प्रस्ताव गरका छन्। 

अहिलेलाई कार्की नेतृत्वको सरकारलाई सघाएर त्यसपछि आफू मुख्यमन्त्री बन्न शेरधनले राजेन्द्रसँग प्रस्ताव गरेको स्रोतले जनाएको छ। 

संविधानको धारा १६८ को उपाधारा ३ बमोजिम गत भदौ २२ गते बनेको कार्की नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाए ढल्नेछ।

त्यसपछि संविधानको धारा १६८ को उपाधरा ५ बमोजिम संसदमा जुनसुकै सांसदले बहुमत पुर्‍याएर सरकारमा दाबी गर्ने ढोका खुल्न सक्छ। अहिलेलाई उपधारा ५ सम्म पुग्न नदिन एमाले नेताहरु सक्रिय भएका हुन्। 

कार्कीले विश्वासको मत लिने समय नजिकिँदै गर्दा एमाले नेता राईले एकीकृत समाजवादीको मत तान्ने कोसिस गरेका हुन्। कोशीमा एकीकृत समाजवादीका चारजना सांसद छन्। कार्कीको पक्षमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीकासहित अहिले ४६ सांसद छन्। बहुमतका लागि ४७ चाहिन्छ। 

कोशीमा मध्यावधिको चिन्ता भइरहेका बेला कार्की नेतृत्वको सरकार टिकाउने उपायको खोजीमा एमाले र समाजवादी दुवै दलका नेताहरुबीच घनिभूत छलफल अघि बढिरहेको छ। 

शेरधनले पनि मध्यावधि ठीक नहुने भन्दै बरु कार्कीपछि आफू मुख्यमन्त्री बन्न राजेन्द्रलाई भनेका हुन्। उक्त भेटबारे पूर्वमुख्यमन्त्री राजेन्द्रले पुष्टि गरेका छन्। 

‘हामीबीच भेट भएको हो। कोशी प्रदेश सरकारबारे कुरा हुनु स्वभाविक हो’, राजेन्द्र राईले भने, ‘तर तपाईंहरुले सुने जस्तो अहिले नै त्यस किसिमको सम्भावना देखिएको छैन। हामी एकै जिल्लाबासी भएकाले यो भेटलाई अन्यथा लिनु जरुरी पनि छैन।’

राईले भेटका क्रममा भोजपुरको विकाससहितका एजेन्डामा पनि छलफल भएको बताएका छन्। उनले एकीकृत समाजवादी अहिले सत्ता गठबन्धनमा रहेका कोशीमा एमालेलाई सघाउने सम्भावना तत्काल नदेखेको पनि उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .