ad ad

राजनीति


बाबुरामलाई बेवास्ता गर्दै प्रचण्डले महीन्द्र यादवसँग राखे एकता प्रस्ताव

बाबुरामलाई बेवास्ता गर्दै प्रचण्डले महीन्द्र यादवसँग राखे एकता प्रस्ताव

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०८० बुधबार १६:४१, काठमाडौँ

समाजादी मोर्चा गठन गर्दा पाखा लगाइएका डा. बाबुराम भट्टराईलाई बेवास्ता गर्दै नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी मोर्चाका अर्का अध्यक्ष महीन्द्र राय यादवसँग एकता प्रस्ताव राखेको छ।

गत भदौ ३० गतेको मितिमा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङ पठाएको पत्रमा उनीहरुले बाबुरामसँग एकता गर्न नचाहेको प्रष्ट पारेका छन्। 

आफैंले परिकल्पना गरेको समाजवादी मोर्चाबाट बाहिरै बस्नुपरेपछि प्रचण्डसँग रुष्ट रहेका बाबुराम यतिबेला भारत यात्रामा छन्। भदौ ३० मा पठाइएको पत्र बाबुराम र छोरी मानुषी भारतमै रहेका बेला नेपालमा सार्वजनिक भएको छ।

समाजवादी मोर्चामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सदस्य रहेपछि बाबुराम पाखा लगाइएका थिए। यस्तो अवस्थामा नेपाल समाजादी पार्टीको संगठन विस्तार अभियानलाई अघि बढाइरहेका बाबुरामलाई फेरि अप्ठ्यारो पार्ने गरी प्रचण्डले अर्का अध्यक्ष यादवलाई सम्बोधन गर्दै एकता प्रस्तावको पत्र पठाइदिएका हुन्। 

तत्कालीन अवस्थमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको चरम द्वन्द्वपछि बाहिरिएका बाबुरामले नेपाल समाजवादी स्थापना गरेका थिए।

उक्त पार्टीका एकजन अध्यक्ष महीन्द्र राय यादवले मा‌ओवादी केन्द्रको चुनाव चिह्न लिएर सर्लाहीबाट चुनाव लडेर जितेका थिए। यता गोरखामा प्रचण्डका लागि ठाउँ खाली गरिदिएर काठमाडौंमा माओवादीको चुनाव चिह्नबाट छोरी मानुषीलाई उनले उठाएका थिए। तर मानुषी पराजित हुन पुगिन्। 

यस्तोमा प्रचण्डका लागि आफ्नो क्षेत्र छाडेका बाबुराम अहिले एक्लिने अवस्थामा उनै प्रचण्डले ल्याइदिएका छन्। 

‘केही समय अगाडिदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकताको लागि पक्ष बीच वार्ता टोली बनाई सम्वाद हुँदै आइरहेको छ’, यादवलाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ, ‘एउटै पार्टी बनाउने लक्ष्यका साथ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुवै पक्षका उम्मेदवारहरुले एउटै चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा लिएर सहकार्य पनि गरियो। दुवै पक्षबीचको वार्ताका क्रममा पार्टी एकताको लागि नाममा पनि छलफल चलिरहेको छ।’

उक्त पत्रमा गत भदौ २५ गते प्रचण्डको अध्यक्षतामा बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी एकताबारे गम्भीरताका साथ छलफल उल्लेख छ।

‘पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्ठमित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको छ’, पत्रमा भनिएको छ।

यसअघि नै माओवादीर डा. बाबुराम भट्टराईसहितको एकताको सम्भावना टरेको नेताहरुले बताएका थिए। 

आफैंले परिकल्पना गरेको समाजवादी मोर्चा झुक्याएर घोषणा गरेको भन्दै बाबुराम प्रचण्डप्रति आक्रोशित थिए। गत असार २ गते बालुवाटारमा भेट गर्दा प्रचण्डले एक-डेढ महिना मोर्चा घोषणा नगर्ने बताएका थिए। तर, असार ४ मै नेसपालाई छुट्याएर अन्य पार्टीले मोर्चा घोषणा गरिदिएका थिए। 

त्यही कारण बाबुराम ६ महिने संगठन विस्तार अभियान लिएर जिल्ला–जिल्ला पुगेका थिए। तर प्रचण्डले बाबुरामबाहेकका नेसपाका अन्य नेतालाई एकतामा ल्याउने गरी पठाएको पत्रले हलचल भएको छ।

भदौ दोस्रो साता नै बालुवाटार पुगेका नेसपा नेताहरुसँग प्रचण्डले बाबुरामबिनाको एकतामा आँट गर्न भनेका थिए। तर त्यसबेला नेसपाका ती नेताहरुले प्रचण्ड–बाबुराम नमिले आन्दोलन ध्वस्त हुने बताएका थिए। 

तर प्रचण्ड लिखित रुपमै बाबुरामलाई बाइपास गर्दै यादवलाई पत्र पठाएपछि नेसपामा संकट देखिएको छ। यसअघि नै नेसपाका दोस्रो वरीयताका अध्यक्ष यादवले एकताको प्रयास नरोकिएको बताएका थिए। 

२०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधि सभाको चुनावमा माओवादीको चुनाव चिह्नबाट नेसपाका नेताहरु लडेका थिए। त्यसमध्ये प्रतिनिधि सभामा १ र प्रदेश सभामा ३ सिट नेसपाले जितेको छ। एकताको तयारी हुँदै गर्दा डा. भट्टराईले माओवादीसमक्ष १९ बुँदे प्रस्ताव पठाएका थिए। तर, त्यसको जवाफ अझैसम्म माओवादीले दिएको छैन। तर उता यादवलाई भने एकताका लागि पत्र नै पठाएको छ। 

एकता वार्ता? 
यसअघि माओवादी र नेसपाबीच एकताका लागि वार्ता टोली नै बनेको थियो। एकता वार्ता टोलीमा गंगानारायण श्रेष्ठ, दुर्गा सोब र रमेश यादव थिए। 

तर नेसपा नेताहरुले आफूसँग एकताका कुरा गरेर प्रचण्ड समाजवादी मोर्चामा लागेपछि समस्या भएको बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .