ad ad

राजनीति


माओवादी एकता प्रस्तावको पत्र अझै पुगेन नेसपा कार्यालय

नेताहरू भन्छन् : बाबुरामबिना कसरी एकता हुन्छ?
माओवादी एकता प्रस्तावको पत्र अझै पुगेन नेसपा कार्यालय

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०८० बुधबार १८:१८, काठमाडौँ

नेपाल समाजवादी पार्टीलाई एकताको लागि नेकपा माओवादी केन्द्रले पठाएको पत्र अझै तीनकुने पुगेको छैन।

नेसपाका कार्यालय प्रमुख रोशन पोखरेलले अहिलेसम्म माओवादी कार्यालयबाट पठाएको कुनै पनि पत्र प्राप्त नभएको बताए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङले एकताका लागि भन्दै भदौ ३० गते नेसपाका संघीय परिषद् अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गरेर पठाएको पत्र बुधबार सार्वजनिक भएको थियो।

‘माओवादीले एकताको प्रस्तावसहित पठाएको पत्रबारे नेसपा बेखबर छ,’ उनले नेपालखबरसँग भने, ‘बजारमा र सामाजिक सञ्जालमा चर्चा भएको पत्रबारे सुनेको हो। तर अहिलेसम्म कार्यालयमा आइपुगेको थाहा छैन।’

‘सामाजिक सञ्जालबाट सार्वजनिक भएको पत्र नेसपाभित्र अन्तरविरोध चर्काएर केही नेतालाई माओवादी प्रवेश गर्ने रणनीतिसहित आएको देखिन्छ,’ पोखरेलले भने, ‘यो भ्रमपूर्ण र कुटिल रणनीतिले माओवादीलाई बेफाइदा गर्छ।’

उनले माओवादी केन्द्रले अपरिपक्क राजनीति गरेको बताए।

नेसपाको कार्याकारी अध्यक्ष डा. बाबुराम भट्टराई हुन्। उनी भदौ ३० गते एकहप्ताको कार्यक्रम लिएर भारतको बैंगलोर पुगेका छन्।

पहिलो (कार्यकारी) अध्यक्ष भारतमा नेसपाको विभिन्न कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड पनि संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा छन्।

तर, नेसपाका अध्यक्ष यादवलाई सम्बोधन गरेर पठाइएको पत्रमा माओवादीका अध्यक्ष प्रचण्ड र महासचिव गुरुङको हस्ताक्षर छ। यादव बाबुरामपछि दोस्रो वरीयतामा अध्यक्ष रहेका छन्। 

नेसपा कार्यालय प्रमुख पोखरेलले छलकपट गरेर माओवादीले एकता प्रस्ताव राखेको बताए।

'प्रधानमन्त्री न्युयोर्क गएकै दिन नेसपा अध्यक्ष डा. भट्टराई भारत जानुभएको हो, अनि प्रचण्डको हस्ताक्षर कसरी भयो?’, उनले प्रश्न गरे।

प्रचण्ड र डा. भट्टराईबीच प्रत्यक्ष संवाद ठप्प भएको उनले दाबी गरे।

डा. बाबुरामबाहेकका नेतालाई माओवादी प्रवेश गराउने सोचबाट पत्र पठाइएकाले यसमा एकताको असल नियत देखिएन,’ उनले भने, ‘बाबुरामजी आएपछि थप छलफल होला।’

नेसपाका अर्का एक नेताले एकताको प्रक्रिया निकै माथि उठेपछि माओवादी केन्द्रले ललिपप देखाएको गुनासो गरे।

‘यो राजनीतिक छलछाम भयो, बाबुराम बिनाको एकता कसरी हुन्छ?’ ती नेताले नेपालखबरसँग भने, ‘यसले पार्टी एकता होइन, प्रवेश गराउने योजना हो।’

गत भदौ ३० गतेको मितिमा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङले नेसपाका अध्यक्ष महिन्द्र यादवको नाममा पार्टी एकताका लागि भन्दै पठाएको पत्र आज सार्वजनिक भएको हो। पत्रमा उनीहरुले बाबुरामसँग एकता गर्न नचाहेको प्रष्ट पारेका छन्। समाजादी मोर्चा गठन गर्दा पनि डा. भट्टराईलाई बेवास्ता गरिएको थियो।

यसअघि नै माओवादी र डा. भट्टराईसहितको एकताको सम्भावना टरेको नेताहरुले बताएका थिए। 

आफैंले परिकल्पना गरेको समाजवादी मोर्चा झुक्याएर घोषणा गरेको भन्दै बाबुराम प्रचण्डप्रति आक्रोशित थिए।

गत असार २ गते बालुवाटारमा भेट गर्दा प्रचण्डले एक-डेढ महिना मोर्चा घोषणा नगर्ने बताएका थिए। तर, असार ४ मै नेसपालाई छुट्याएर अन्य पार्टीले मोर्चा घोषणा गरिदिएका थिए। 

त्यहीकारण बाबुराम ६ महिने संगठन विस्तार अभियान लिएर जिल्ला–जिल्ला पुगेका थिए। तर प्रचण्डले नेसपाका केही नेतालाई एकतामा ल्याउने गरी पठाएको पत्रले हलचल भएको छ।

भदौ दोस्रो साता नै बालुवाटार पुगेका नेसपा नेताहरुसँग प्रचण्डले बाबुरामबिनाको एकतामा आँट गर्न भनेका थिए। तर त्यसबेला नेसपाका ती नेताहरुले प्रचण्ड–बाबुराम नमिले आन्दोलन ध्वस्त हुने बताएका थिए। 

तर प्रचण्ड लिखित रुपमै बाबुरामलाई बाइपास गर्दै यादवलाई पत्र पठाएपछि नेसपामा संकट देखिएको छ। यसअघि नै नेसपाका संघीय परिषद् अध्यक्ष यादवले एकताको प्रयास नरोकिएको बताएका थिए। 

२०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधि सभाको चुनावमा माओवादीको चुनाव चिह्नबाट नेसपाका नेताहरु लडेका थिए।

त्यसमध्ये प्रतिनिधि सभामा १ र प्रदेश सभामा ३ सिट नेसपाले जितेको छ। एकताको तयारी हुँदै गर्दा डा. भट्टराईले माओवादीसमक्ष १९ बुँदे प्रस्ताव पठाएका थिए।

तर, त्यसको जवाफ अझैसम्म माओवादीले दिएको छैन। तर उता यादवलाई भने एकताका लागि पत्र नै पठाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .