ad ad

राजनीति


शशांक र सुजातासामु शेखरको गुनासो : साथ दिएको भए सभापतिमा जित्ने थिएँ

शशांक र सुजातासामु शेखरको गुनासो : साथ दिएको भए सभापतिमा जित्ने थिएँ

बीपी साहित्य महोत्सवमा कोइराला परिवारका तीन सदस्य। तस्बिर : नेपालखबर


नेपालखबर
असोज ३, २०८० बुधबार १९:५३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यहरुले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन्। 

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपी नगरमा आयोजित बीपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बीपी’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन्।

बीपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको जनाउँदै उनले कोइराला परिवारका सदस्यहरु एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरुले दु:ख पाइरहने दाबी गरे।

उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्रै भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझाव बमोजिम नै आफूले पार्टीको १४औं महाधिवेशनमा प्रतिष्पर्धा गरेर सम्मान पाएको बताए। 

‘मैले पाउने सम्मान पाएकै छु तर महाधिवेशनमा तपाईंहरुले साथ दिएको भए, यस्तो हालत हुँदैनथ्यो। पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाए जस्तो सजिलो हुन्न रहेछ’, उनले भने।  

नेता कोइरालाले आफूहरु कोइराला परिवारका सदस्यहरुलाई सधैँ साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा. शशांक र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताए। 

कांग्रेसका पूर्वमहामन्त्री तथा बीपी पुत्र डा. शशांक कोइरालाले पार्टीका कार्यकर्ताको सुझाव बमोजिम चल्ने गरेको भन्दै १४औँ महाधिवेशनमै सभापतिमा उठ्न खोजेको बताए। आफू १५औँ महाधिवेशनमा सभापतिको आकांक्षी रहेको उल्लेख गरे।

‘बीपीले भन्नुहुन्थ्यो, यो प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो यो पदमा आउँछ र बस्छ। बीपी सफल हुनुका कारण जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहुन्थ्यो', उनले भने, 'बीपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो। ७ हजार किलोमिटर बाटो थियो, अहिले १ लाख किलोमिटर भयो। हात हातमा मोबाइल आयो, यो सबै गिरिजाप्रसाद कोइरालाको देन हो।’

उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै बीपी कोइरालाले कार्यकर्ताहरुलाई धेरै माया गर्नुहुन्थ्यो। आजकलका नेताहरु कार्यकर्ताको दुःख नबुझ्ने गरेको बताए। 

आफू राजनीतिमा लागेसँगै २०६४ सालमा नवलपरासीबाट निर्वाचन लडेको प्रसंगमा डा. शशांकले भने ‘मैले ४ पटक जितेँ, मन्त्री भएको छैन। केही गरेको छैन। तर जितेँ। महिलाहरुलाई मैले प्राथमिकता दिन्छु। महिलाकै कारण जितेँ। म कसैलाई चिन्दिन थिएँ, पाँच वटा गाविसको नाम कण्ठ गरेर गएँ।’ 

डा. कोइरालाले परिवार मिलाउन नसक्ने मान्छेले यत्रो पार्टी र सरकार कसरी मिलाउन सक्छ? भनेर बीपीले आफूहरुलाई भन्ने गरेको घटना स्मरण गरे। 

पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाले नेपाली कांग्रेसका केही जिल्लाका कार्यकर्ताहरु दलित सँगसँगै बसेर खाना नखाएको घटनाबाटद आफू दुखित भएको बताइन्। 

उनले आफ्नो परिवारमा त्यस्तो विभेद कहिल्यै गर्ने नगरेको भन्दै कार्यकर्तालाई केन्द्रबिन्दुमा राखेर काम गर्न पार्टीका युवा महामन्त्रीहरुसँग आग्रह गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .