ad ad

राजनीति


प्रेस बलियो भए मात्रै लोकतन्त्र मजबुत हुन्छ : राष्ट्रपति (सम्बोधनको पूर्णपाठ)

प्रेस बलियो भए मात्रै लोकतन्त्र मजबुत हुन्छ : राष्ट्रपति (सम्बोधनको पूर्णपाठ)

नेपालखबर
असोज ६, २०८० शनिबार १०:३७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई बलियो बनाउने बताएका छन्। 

प्रेस काउन्सिल नेपालको ५४औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रतामा आफ्नो अटल विश्वास र समर्पण सधैँ रहने बताए। 

‘निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँछ भन्नेमा मेरो गहिरो विश्वास छ’, उनले भने, ‘यही दर्शनलाई आत्मसात् गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने लोकतान्त्रिक व्यवस्थाका लागि मेरो स्वयंको जीवनको उर्वर समय जेल, नेल, यातना र अनेकौं कष्टले बितेको छ।’

राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिल नेपालका ५४औं वार्षिकोत्सवका अवसरमा गरेको सम्बोधन   
कार्यक्रममा अध्यक्षता गरिरहनुभएका प्रेस काउन्सिल नेपालका अध्यक्ष,

माननीय मन्त्री, 
उपस्थित् सञ्चारकर्मी तथा अन्य महानुभावहरू

सर्वप्रथम प्रेस काउन्सिल नेपालको ५४औं वार्षिकोत्सवका अवसरमा  प्रेस काउन्सिल परिवार र सिंगो नेपाली प्रेस जगतलाई बधाई एवं शुभकामना दिन चाहन्छु। 

स्वस्थ पत्रकारिताको विकासका लागि उपयुक्त वातावरण सिर्जना गरी यो क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन स्थापित प्रेस काउन्सिलले आज स्थापना दिवस मनाउन गइरहेकोमा मलाई खुसी लागेको छ। प्रेस काउन्सिलको बेग्लै इतिहास, गरिमा र महत्त्व छ। त्यसलाई झन् बढाउन आजको दिनले सबैलाई प्रेरित गरोस् भनी म यो अवसरमा पुनः शुभकामना दिन चाहन्छु। 

लोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौंथो अंगका रूपमा लिइन्छ। कुनै पनि मुलुकको लोकतन्त्र कति सुदृढ छ भन्ने विषय त्यस देशको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था र पत्रकारिता क्षेत्रको विकासले निर्धारण गरेको हुन्छ। त्यही भएर हाम्रो संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपले प्रत्याभूत गर्ने व्यवस्था गरिएको हो।

निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउँंछ भन्नेमा मेरो गहिरो विश्वास छ। यही दर्शनलाई आत्मसात् गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्ने लोकतान्त्रिक व्यवस्थाका लागि मेरो स्वयंको जीवनको उर्वर समय जेल, नेल, यातना र अनेकौं कष्टले बितेको छ। त्यही भएर पनि निष्पक्ष, स्वतन्त्र र मर्यादित पत्रकारिताका लागि प्रेस स्वतन्त्रतामा मेरो अटल विश्वास र समर्पण सँंधै रहँंदै आएको छ। 

पत्रकार वा प्रेसलाई कुनै कानुन, नियम बनाएर नियन्त्रण गर्नुपर्छ भन्ने दृष्टिकोणको म सधैँ विपक्षमा उभिँदै आएको हुँ। गलत र भ्रामक सूचना दिने सञ्चारमाध्यमलाई पाठक, स्रोता वा दर्शकले दण्डित गर्दछन् भन्ने दर्शनमा मलाई विश्वास छ। सञ्चारकर्मी र सञ्चारमाध्यम आफैं जिम्मेवार हुन सक्नुपर्छ। 

तर पनि समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता तथा मर्यादा कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग होस् भनेर लोकतन्त्रमा काउन्सिलजस्ता निकाय स्थापना गरी आचारसंहिता तोक्ने, कार्यान्वयन भए, नभएको अनुगमन गर्ने जिम्मेवारी वहन गर्दै आइरहेको छ। साथै, सार्वजनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्न लगाउनका लागि काउन्सिलको भूमिका महत्त्वपूर्ण हुन्छ। प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयंको पनि निष्पक्ष र स्वतन्त्र तथा सृजनात्मक भूमिका हुनुपर्छ भन्ने मलाई लाग्छ। 

सामाजिक सञ्जालको तीव्र विकास र प्रयोगसँगै नागरिकलाई दिग्भ्रमित पार्ने विषयवस्तु र सामग्रीले कतिपय बेला अन्योल सिर्जना भइरहेको भन्ने गुनासो सरोकारवालाले गरेको पाइन्छ। यस्तो अवस्थामा सामाजिक सञ्जालबाट सिर्जना हुने अन्योलसमेत प्रेस जगतले चिर्ने गरी सूचना प्रवाह गर्नुपर्ने दायित्व थपिएको छ। 

राम्रो काम गर्ने पत्रकारलाई पुरस्कृत, सम्मान गर्ने र गर्न नसक्नेलाई राम्रो गर्नेतर्फ उत्प्रेरित गर्ने स्वायत्त संस्था समेत प्रेस काउन्सिल भएकाले आगामी दिन यो काममा काउन्सिललाई सफलता मिलोस् भन्ने शुभेच्छासमेत राख्न चाहन्छु।

अन्त्यमा, वार्षिकोत्सवका अवसरमा पत्रकारिता मार्फत लामो समयदेखि राष्ट्रलाई योगदान दिई सम्मान पाउनुहुने र देशका विभिन्न भागबाट छानिएर विभिन्न विधामा पुरस्कृत सबैमा हार्दिक बधाई छ।
जय नेपाल!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .