ad ad

राजनीति


इजरायल घटनाको निहुँमा सरकार ढाल्ने प्रयास गरियो : पुन

इजरायल घटनाको निहुँमा सरकार ढाल्ने प्रयास गरियो : पुन

फाइल फाेटाे


नेपालखबर
असोज २४, २०८० बुधबार १८:२५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका महासचिव वर्षमान पुन अनन्तले इजरायल घटनाका नाममा सरकारविरुद्ध आक्रमण गरी मुलुकमा अस्थिरता निम्त्याउने प्रयास भएको दाबी गरेका छन्। 

पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा बुधबार पुनले इजरायल घटनामा असफल भएको सन्देश प्रवाह गरी सरकार ढाल्ने असफल प्रयास गरिएकाे जिकिर गरेका हुन्। 

तर, सरकारको जिम्मेवारीपूर्ण प्रयासले त्यस्तो कोसिस विफल पारिएकाे दाबी पुनले गरे। 

सरकारले इजरायल सरकारसँगको समन्वयमा युद्धग्रस्त क्षेत्र गाजामा बंकरभित्र रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा सारेर देशमा सरकार भएको अनुभूति दिलाएको बताए।

उनले बुधबार मात्र सरकारले इजरायलसँग समन्वय गरी स्वदेश फर्कन इच्छुक नेपाली लिन चार्टर्ड जहाज पठाउन लागेको जानकारी दिए।

‘इराक युद्धमा जस्तै गरी इजरायल युद्धको बहानामा सरकारलाई घेराबन्दी गरेर मुलुकमा अस्थिरता निम्त्याउने प्रयास भएको थियो’, पुनले भने, ‘सरकारको जिम्मेवारीपूर्ण पहलका कारण ती सबै प्रयास असफल भएका छन्।’

विदेशी भूमिमा १० नेपालीको हत्या भएको र सयौं नेपाली नागरिक युद्धको संकटमा फसेका बेला सरकारलाई सहयोग गर्नुको साटो मौकाका रुपमा उपयोग गर्न खोज्नु निन्दनीय भएको टिप्पणी पुनले गरे।

देशका विभिन्न स्थानमा धार्मिक र सामाजिक सद्‌भाव भड्काएर राजनीतिक स्वार्थसिद्ध गर्ने प्रयास भएको पनि उनले बताए। 

सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगन्जमा भएका सामाजिक सद्‌भावविरोधी घटनामा प्रतिगामी र व्यवस्थाविरोधी तत्त्वको प्रत्यक्ष/अप्रत्यक्ष संलग्नता रहेको दाबी उनले गरे।

गणतन्त्र, संघीयता र धार्मिक सद्‌भावका पक्षमा रहेका जनताले एकताको भावनामार्फत प्रतिगामी षड्यन्त्र विफल पारेको पुनले बताए।

घृणा फैलाएर समाज भाँड्ने प्रतिगामीहरुको कोसिस राष्ट्रिय एकताका माध्यमद्वारा आफूहरुले कुनै हालतमा सफल हुन नदिने पुनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .