प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ।
केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको यो बैठकमा गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पपछिको अवस्थाबारे छलफल हुँदैछ।
जाजरकोट र रुकुममा आएको भूकम्पपछि राहत र पुनर्स्थापनाबारे सरकारले चालेका कदमका विषयमा सचिवालयमा छलफल हुँदैछ।
त्यसैगरी बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानबारे पनि छलफल हुने भएको छ।
उक्त अभियान एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म चलाइने भएको छ।
यो अभियानलाई एमालेले आगामी मंसिर दोस्रो सातादेखि थाल्ने बताइएको छ। एमालेले पार्टी विस्तार अभियान अन्तर्गत मध्यपहाडी यात्रा गर्न लागेको हो।
बैठक मा पार्टी अध्यक्ष केपी शर्मा ओली,पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल सहभागी छन्।
त्यस्तै सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल लगायत उपस्थित छन्।
यो सचिवालय बैठकबाट आगामी केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने छ।
Shares
प्रतिक्रिया