ad ad

राजनीति


भारत र चीनसँग समदुरीको सम्बन्ध हुन सक्दैनः प्रचण्ड

भारत र चीनसँग समदुरीको सम्बन्ध हुन सक्दैनः प्रचण्ड

नेपालखबर
असार १४, २०७६ शनिबार १६:२४,

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत र चीनसँग नेपालको सम्बन्ध समदुरीमा हुन नसक्ने बताएका छन्।

परराष्ट्र मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवाद’ कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भारत र चीनसँग समदुरीको सम्बन्ध राख्ने भन्नुको अर्थ समान सम्बन्ध भन्ने हुन नसक्ने बताएका हुन्।

‘छिमेकी भारत र चीनसँग हामीले समदुरीको सम्बन्ध राख्नुपर्छ भन्नुको अर्थ ५०/५० प्रतिशत सम्बन्ध भन्ने होइन’, प्रचण्डले भने, ‘भारत र चीनसँग नेपालको सम्बन्धका छुट्टाछुट्टै विशेषता छन् र त्यस आधारमा दुबै छिमेकीसँग विशेष खालको सम्बन्ध हुन्छ।’

अध्यक्ष प्रचण्डले ‘जुनसुकै परिस्थितिमा पनि राष्ट्रिय स्वार्थको सम्वद्र्धन गर्नु नै सही परराष्ट्र नीति हो’ भन्दै ‘सरकार फेरिएपिच्छे परराष्ट्र नीतिको जोडकोण फेरिने अवस्थाको अन्त्य गर्ने बेला आएको’ बताए।

‘अब हामी प्रो नेपाल बाहेक अरु हुन सक्दैनौं, प्रो दक्षिण वा प्रो उत्तर हुने दिन गए’, प्रचण्डले भने, ‘हाम्रो मौलिक शान्ति प्रक्रिया र समावेशी लोकतन्त्रलाई विश्वमा स्थापित गर्ने बेला हो यो।’

मन्त्रालयले काठमाडौं म्यारियट होटलमा आयोजना गरेको एक दिने संवाद कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। दिउँसो नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका विविध विषयमा चार वटा सत्रमा छलफल गरिएको थियो।

सरकारले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको महत्व बढाउन ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ, जसलाई सहयोग पुग्ने गरि अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा राष्ट्रिय नीति तय गर्न शनिबार बृहत कार्यक्रम आयोजना गरिएको हो।

समापनमा समारोहमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले सरकारले बिमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेना नपठाउने निर्णय गर्ने क्रममा अपरिपक्व चरित्र देखाएको बताए।

‘चीनले अगाडि सारेको बीआरआई परियोजनामा म परराष्ट्रमन्त्री हुँदा नै हस्ताक्षर भएको हो, हाम्रो सन्दर्भमा यो चीनसँगको दुई पक्षीय आयोजना हो’, महतले भने, ‘नेपालको हित हुने अवस्थामा अमेरिकाले अगाडि सारेको इण्डो प्यासेफिक रणनीति पनि हामीले स्वीकार गर्नुपर्छ।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले ‘भारत र चीनबीच समदुरीको सम्बन्ध राख्ने नेपालको नीति अब असान्दर्भिक भएको’ बताए।

‘भारत र चीनसँग समदुरीको सम्बन्ध राख्ने नीति अब असान्दर्भिक भैसक्यो’, थापाले भने, ‘हामीले समदुरी भन्दा भारतीय नेताहरूले मसँग भन्ने गरेका छन्– तपाईंहरू चीनबाट फइदा लिनुस् तर हामीलाई किन चीनसँग जोड्नु हुन्छ, नेपालसँग हाम्रो सम्बन्ध विशेष खालको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .