राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ। आजबाट महोत्तरीको जलेश्वरमा सुरु भएको बैठक तीनदिनसम्म चल्ने पार्टीले जनाएको छ।
आजको बैठकमा सांसदहरूको कार्य प्रतिवेदन र भावी योजनाको बारेमा छलफल भएको छ।
बैठकमा सहभागी सांसद सोविता गौतमका अनुसार आजको बैठकबाट कुनै पनि औपचारिक निर्णय हुनेछैन।
‘सांसदहरूको कार्य प्रतिवेदन र भावि योजना प्रस्तुत भइरहेको छ,’ गौतमले नेपालखबरसँग भनिन्, ‘खास अहिले केही कुरा छैन। आ–आफ्नो प्रतिवेदन बुझाएको हो। अनि भोलि र पर्सि के काम गर्ने भन्ने कुरा राखिएको छ।’
बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ।
बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत उपस्थिति रहनेछ।
रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेश प्रदेशमै छन्।
Shares
प्रतिक्रिया