ad ad

राजनीति


राति साढे नौ बजे प्रधानमन्त्री प्रचण्ड दुबई जाँदै, यस्ता छन् कार्यक्रम

राति साढे नौ बजे प्रधानमन्त्री प्रचण्ड दुबई जाँदै, यस्ता छन् कार्यक्रम

फाइल तस्बिर


नेपालखबर
मंसिर १३, २०८० बुधबार ११:३६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै छन्।

प्रधानमन्त्री प्रचण्ड बुधबार राति ९:३० बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। 

कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ। 

प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिने कार्यक्रम छ।

त्यसैगरी प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। 

उनले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवद्र्धन गर्न ‘हिमालको आह्वान : जलवायु सङ्कटबाट हामीलाई कसले बचाउछ?’ शीर्षकको उच्चस्तरीय बैठकमा सम्बोधन गर्ने छन्।

प्रधानमन्त्री दाहालले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ। 

उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गङ्गा दाहाल, वन तथा वातावरण मन्त्री डा.विरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। 

प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कनेछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .