ad ad

राजनीति


संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउँछौँ : प्रधानमन्त्री

संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउँछौँ : प्रधानमन्त्री

नेपालखबर
मंसिर २४, २०८० आइतबार २०:५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउने बताएका छन्।

आइतबार गम्भीर मानवअधिकार उल्लंघनका पीडितहरुको राष्ट्रिय सञ्जालद्वारा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट टुंग्याउने अन्तिम प्रयास गर्ने तर राष्ट्रिय सहमति हुन नसके बहुमतको आधारमा टुंग्याउने बताए।

‘अहिलेको परिस्थिति हेर्दा हामी झनै एकजुट हुनुपर्ने अवस्था छ। यो प्रक्रिया टुंग्याउनुपर्नेछ। म सरकारमात्रै होइन, शान्ति सम्झौताको एउटा हस्ताक्षर कर्ता पनि हो। मेरो जिम्मेवारी छ, यसलाई टुंग्याउने र तपाईहरुलाई खुशी बनाउने, मरिसकेकोलाई फिर्ता ल्याउनसक्ने कुरा भएन, बेपत्तालाई पनि फिर्ता ल्याउनसक्ने अवस्था छैन,’ उनले भने, ‘तर हामी बाचेकाहरुले गर्नसक्ने कुरा जति गर्नेछौँ । एमालेको अभियान चलिरहेको छ, पुस पहिलो सातासम्म त अभियान नै छ, त्यो बेलासम्म संसद बोलाउने कुरा भएन। सम्भवतः त्यसपछि सदन बोलाउने सोचिँदै छ। तैपनि अब बस्ने सदनमा पहिलो एजेन्डाको रुपमा यसलाई प्रवेश गराइन्छ। राष्ट्रिय सहमति गराउने अन्तिम प्रयास हुनेछ। भएन भने डेमोक्रेटिक प्रक्रियाबाट टुंग्याइन्छ।’

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा पुस पहिलो साता सकिने र त्यसपछि संसद अधिवेशन आह्वान हुने बताए। 

अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा संक्रमणकालीन न्यायलाई प्रवेश गराउने प्रतिवद्धता पनि प्रधानमन्त्री प्रचण्डले जनाए।

‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने कोशिस भइरहेको छ। त्यसकारण पनि हामी अझ बढी एक भएर अघि बढ्न जरुरी छ र यसलाई छिटो भन्दा छिटो पोजिटिभ्ली सकारात्मक ढंगले टुंग्याउन जरुरी छ। त्यसो गर्न सकेनौँ भने अफ्ठ्यारा आउँछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले ५÷७ दिनअघि केही सम्पादकहरूलाई बोलाएर कुरा गरेको थिएँ, यो संसारमा मानव जातिले विकास गरेको राजनीतिक प्रणाली अहिलेसम्मको सबैभन्दा राम्रो के हो भन्दा लोकतान्त्रिक गणतन्त्र नै हो। विभिन्न रुपमध्ये एउटा लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ। यो सबैभन्दा राम्रो प्रणालीमाथि धावा बोल्नुको अर्थ नराम्रोमा जाने हो। यो भन्दा राम्रो त समाजवाद हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .