ad ad

राजनीति


नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन प्रयासरत छौँ : प्रधानमन्त्री

नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन प्रयासरत छौँ : प्रधानमन्त्री

नेपालखबर
मंसिर २८, २०८० बिहिबार ९:१६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन्।

बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकारले पहल गरिरहेको बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचिबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।

रास्वपाका प्रतिनिधिसँगको कुराकानीमा प्रधानमन्त्रीले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए। 

प्रधानमन्त्रीले भने, ‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको छु। हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ। त्यसैले म गम्भीर छु।’

यसपटक हवाई सुरक्षामा केही सुधार भएको दाबी पनि उनले गरे।

‘त्यही सुधारको आधारमा इयुको कालोसूचिबाट हट्छौँ कि भन्ने विश्वास थियो,’ प्रधानमन्त्रीले भने,  ‘तर हाम्रो सुधार पर्याप्त भएन। थप सुधारका निम्ति काम गर्नुपर्ने परिस्थिति देखिएको छ। तपाईंहरूले दिएका सुझाव महत्त्वपूर्ण छन्। नियामक निकायहरूसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हामी गर्ने छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .