प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा राम्रा भन्दा नराम्रा कुरा धेरै मन पराउने जमात बढ्दै गएको बताएका छन्।
ललितपुर महानगरपालिकाको स्थापना दिवसलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले नकारात्मक कुराको पछि लाग्दा प्रगतिभन्दा अधोगति हुने बताए।
‘हामीमा नेगेटिभ कुरा धेरै गर्ने बानी भयो। यसो हुँदा देश फेरि प्रगतिमा होइन दुर्गतितिर जान्छ। पोजेटिभभन्दा नेगेटिभ कुरा हेर्ने बानी भयो’, उनले भने, ‘खाली अँध्यारो र खाली नकारात्मक कुरा मात्रै हेर्न थाल्यौँ। यस्तो भयो भने हामीले राजनीतिक स्थायित्व, विकास र जनतालाई आशा र भरोसा दिन सक्दैनौँ।’
दाहालले राम्रा कुराको पछि नलागे देश पछाडि फर्किन सक्ने बताए। ‘हामीले राम्र कामका कुरा जनतामा नलगे देश पछाडि फर्किन थाल्छ। सरकारले जनतासँग प्रत्यक्ष जोडिने काम गरिरहको छ। तर हामी किन सकारात्मक ढंगले भन्दैनौँ’, उनले भने, ‘दल र नेताको भूमिकालाई हामीले सकारात्मक भन्दैनौँ। एकथरी मान्छे गणतन्त्र, संघीयता र अहिलेको व्यवस्था विरोधी छन्। तिनले नकारात्मक धारणा बनाएर यो परिवर्तनलाई निष्तेज बनाउन खोजेका छन्।’
दाहालले अहिले विदेशिने युवाहरूको लर्को लागेको सुनाए। ‘युवाहरूको विदेश जाने लर्को लागेको छ। यो आंशिक सत्य हो, यो चिन्ताको विषय पनि हो’, उनले भने, ‘हजारौँ युवा गएका गयै छन् रोक्न सकिएन भनेर रोकिँदैन।’
उनले युवाहरूलाई यसरी विदेशिनबाट रोक्न रोजगारी सिर्जना गर्न नसकिएको स्वीकारे। ‘मैले यस कुरालाई मनन गरेको छु। हामीले रोजगारी सृष्टि गर्न जति सक्नुपर्थ्यो सकेनौँ। विकास निर्माणलाई जति गति दिनुपर्थ्यो सकेनौँ भन्ने कुरा स्वीकार्छु’, उनले भने, ‘तर यसै कारणले मात्रै हाम्रा युवाहरू विदेश गएका हुन् भन्ने कुरा पूरै सत्य होइन। पश्चिम नेपालका केही जिल्ला घुम्दा कयौँ गाउँमा शिक्षकहरू, हेड मास्टरहरू नै ६०/७० हजारको जागिर छाडेर विदेश जाने लर्को लागेको देखेँ।’
दाहालले देशमा भएको रोजगारी पनि छाडेर जाने क्रम चलेको पनि बताए। ‘नेपालमा सानोतिनो काम गर्न लाज मान्नेहरू विदेशमा जस्तोसुकै काम गर्न तयार हुने रहेछन्। तपाईं हामी सबै भन्छौँ, किन युवा विदेशिँदैछन् भनेर। सरकारले काम पनि गर्न खोजेको छ। तै पनि दिनदिनै गाली गर्छन्, जसले काम गरन खोजेको छ त्यसलाई नै गाली गर्ने क्रम जारी छ।’
दाहालले मानिसको सोच गलत भएमा जागिर नै दिए पनि स्वदेशमा नबस्ने बताए। ‘मानिसको सोच गलत भयो भने जागिर दियो भने पनि बस्दो रहेनछ’, दाहालले अगाडि भनेका छन्।
दाहालले जति काम गर्नुपर्ने हो सरकारले त्यति गर्न नसकेको स्वीकारे। ‘जति गर्न सक्नुपर्ने हो, सकेनौँ, स्वीकार्छु म’, उनले भने, ‘मैले एक वर्ष सरकारमा बिताएँ, अबको एक वर्ष सबै असन्तुष्टिलाई सम्बोधन गर्नेगरी काम गर्नेछु।’
उनले अब प्रदेश र स्थानीय तहलाई बलियो बनाउन संघीय निजामती कानुन ल्याउन लागेको बताए। संघीय शिक्षा कानुन ल्याएर आफूले विदेश जाने मात्रै प्रणालीलाई बदल्न चाहेको पनि उल्लेख गरे।
दाहालले प्रहरी समायोजन कानुनलाई लागु गर्न लागिएको पनि बताएका छन्। ‘सरकाको नेतृत्व गरेको एक वर्षपछि म अर्को ढंगले काम गर्न चाहन्छु। मैले गरेका सकारात्मक प्रयासलाई प्रोत्साहन दिइँदैन’, उनले भने, ‘सरकारका राम्रा कामलाई पनि हौसला दिने गरौँ।’
Shares
प्रतिक्रिया