ad ad

राजनीति


नेपालका सांसदले चीनमा सके १० दिने कार्यशाला, शनिबार फर्किंदै

नेपालका सांसदले चीनमा सके १० दिने कार्यशाला, शनिबार फर्किंदै

नेपालखबर
पुस १३, २०८० शुक्रबार ९:७, बेइजिङ

नेपाली सांसदका लागि चीनको बेइजिङमा आयोजित १० दिने कार्यशाला बिहीबार समापन भएको छ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ) को आयोजनामा भएको कार्यशालामा नेपालको संघीय संसद्‌का १७ सदस्य र संघीय संसद् सचिवालयका तीन कर्मचारी सहभागी थिए।

समापन समारोहमा एआईबीओका उपप्रमुख छेन रुइचुनले नेपालका कानुन निर्माताहरुका लागि आयोजना गरिएको कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गरे।

‘हामीले सुरुवात मात्र गरेका छौँ’, उनले भने, ‘अनुभव आदानप्रदानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ।’

सयौँपटक सुन्नुभन्दा एकपटक हेर्नु राम्रो भन्ने चिनियाँ भनाइ उद्धृत गर्दै उनले विकास निर्माणमा चीनले प्राप्त गरेको सफलता अन्य मुलुकका लागि पनि अनुकरणीय हुन सक्ने बताए। 

नेपाली प्रतिनिधि मण्डलका सदस्य एवं नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा प्राप्त सफलताले चीन विश्वकै लागि अवलोकनस्थल भएको उल्लेख गरे। उनले विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिँदै नेपाल बीआरआईको हिस्सेदार हुन पाएकोमा खुसी व्यक्त गरे।

समापन कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारी, नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका सांसद अनिशा नेपाली, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी, जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारी तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सम्बोधन गरेका थिए।

उनीहरुले दुई मुलुकबीच मौलिक विशेषतायुक्त सम्बन्ध रहेको चर्चा गर्दै कूटनीतिक, व्यापारिक सम्बन्ध, विकास सहयोग तथा अनुभव आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

पुस २ गते बेइजिङ आएको नेपाली संसदीय टोलीले चीनको च्याङ्सु र कुइयाङ प्रान्तको भ्रमण गरेको थियो। उनीहरुले दुवै प्रान्तका प्रान्तीय राष्ट्रिय जनकंग्रेसका उच्च अधिकारीसँग भेट गरेका संघीय संसद् सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए।

आफ्नो भ्रमण पूरा गरी नेपाली संसदीय टोली शनिबार काठमाडौँ फर्किँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .