ad ad

राजनीति


धरानका पाँच दलले भने : मेयर साम्पाङको शैली हिटलरको जस्तै, उद्दण्ड र अराजक

धरानका पाँच दलले भने : मेयर साम्पाङको शैली हिटलरको जस्तै, उद्दण्ड र अराजक

नेपालखबर
पुस १३, २०८० शुक्रबार १३:३५, काठमाडौँ

धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोमा पाँच राजनीतिक दलले विरोध गरेका छन्।

धरानस्थित ठूलासहितका पाँच दलले शुक्रबार वक्तव्य निकालेर मेयर साम्पाङको उक्त कदमलाई उद्दण्ड र अराजक भनेका हुन्। 

कांग्रेस सभापति श्याम पोख्रेल, एमाले उपाध्यक्ष पारस काङमाङ राई, नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष सम्फर तामाङ, जसपा नेपालका अध्यक्ष ताजुब लिम्बु र नेकपा एकीकृत समाजवादीका सचिव खेम प्रसाद दाहालले संयुक्त वक्तव्य निकालेर राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको तस्बिर हटाएकोमा आपत्ति जनाएका हुन्। 

धरानका मेयरले संविधानको ठाडो उल्लंघन गरेको पनि उनीहरुको भनाइ छ।

दलहरूले मेयर साम्पाङले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणालीमाथि गम्भीर प्रहार गरेको भनेका छन्।

‘नेपालको संविधान २०७२ को धारा ६१ बमोजिम राष्ट्र प्रमुख र प्रधानमन्त्रीको तस्बिर संविधानको रक्षक र कार्यकारी प्रमुखको सम्मानमा राख्न सबैको कर्तव्य हुने भन्ने उल्लेख गरिएको छ। आजको मितिमा धरानको प्रमुखले आफ्नो कार्यकक्षको भित्तामा राखिएको राष्ट्रप्रमुख, कार्यकारी प्रधानमन्त्रीको तस्बिर हटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘धरानका प्रमुखबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणालीमाथि गम्भीर प्रहार भएको छ। यसै प्रणालीलाई टेकेर अध्यावधिक निर्वाचनमार्फत निर्वाचित उपमहानगर प्रमुखले संविधानको ठाडो उल्लंघन गर्ने कार्य गरेको हाम्रो ठहर छ।’

दलहरुले धरानका मेयरको सामाजिक सञ्जालको प्रस्तुति र गतिविधिले निरंकुश र उदण्ड शैलीमार्फत हिटलरको बाटोमा हिँड्न खोजेको भन्ने बहसलाई उजागर गरेको बताएका छन्।

सुन्दर, शान्त, सभ्य र शिक्षित सहर धरानलाई हाँस्य र लज्जाका रुपमा परिणत नगर्न पनि दलहरूले मेयर साम्पाङलाई भनेका छन्।

त्यही प्रकृयाबाट निवार्चित राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर यथास्थानमा राख्न पनि दलहरूले भनेका छन्। 

मेयर साम्पाङले बिहीबार आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर हटाएका थिए। 

उनीहरूको ठाउँमा प्रथम किराती राजा यलम्बरको तस्बिर राखिएको छ। संघीय सरकारले असहयोग गरेको भन्दै मेयर साम्पाङले यस्तो कदम चालेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .