नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेकपा एमालेको पछिल्लो भूमिकाबारेमा गम्भीर प्रश्न उठाएका छन्।
आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले सत्ता गठबन्धनसँग सीट मागेको समाचार आइरहेका बेला नेता कोइरालाले आफ्नो भनाइ सार्वजनिक गरेका हुन्।
कोइरालाले कोशी प्रदेशका एमालेको सहयोगमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा केन्द्रको गठबन्धन धरापमा पर्यो भन्नेहरू नै आज उसैसँग मिल्न लागेको पनि टिप्पणी गरेका छन्।
कोइरालाले सत्ता गठबन्धनका दलहरूमध्ये कसैलाई टिआरसी विधेयक र कसैलाई विभिन्न समयमा भएका काण्डबाट जोगिन एमालेको साथ चाहिएको पनि बताएका छन्।
‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्’, उनले भनेका छन्, ‘हुन त यो श्रृंखला एमालेलाई संसदीय समितिमा तीन सभापति दिने दिनबाटै सुरु भएको हो।’
उनले एमालेको साथबिना असुरक्षित महसुस गरेकाले सत्ता गठबन्धनले सहमतिको नयाँ कार्ड फ्याकेको पनि बताएका छन्।
‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ’, उनले अगाडि भनेका छन्, ‘अनि एमाले, एक-दुई सिटका लागि जे पनि हस्? यदि यसो होइन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भइगयो। किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु?’
संसदीय समितिका तीन सभापति र राष्ट्रिय सभाका दुई तीन सिट पाएपछि प्रमुख प्रतिपक्षले राष्ट्रिय मुद्दामा आँखा चिम्लनु झनै दुर्भाग्यपूर्ण रहेको उनले बताएका छन्।
‘टिआरसीका सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर प्रकृतिका मुद्दामा क्षमा दिन नहुने निर्देशनात्मक आदेश र मानव आधिकारका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको अधीनमा रहेर द्वन्द्वबाट पीडितहरूले पर्याप्त क्षतिपूर्ति पाउने गरी मात्रै विधेयक आउनु पर्ने कुरामा स्पष्ट हुनु जरुरी छ’, उनले भनेका छन्।
Shares
प्रतिक्रिया