ad ad

राजनीति


‘गंगा दाहाललाई हटाउन खोज्नु प्रधानमन्त्रीलाई असफल बनाउनु हो’

‘गंगा दाहाललाई हटाउन खोज्नु प्रधानमन्त्रीलाई असफल बनाउनु हो’

फाइल तस्बिर


रासस
पुस २०, २०८० शुक्रबार १३:३, काठमाडौँ

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहाललाई स्वकीय सचिवबाट हटाउनु खोज्नुलाई प्रधानमन्त्री नै असफल बनाउने योजना भनेका छन्। 

‘नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहेकी र पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएदेखि नै उनको स्वकीय सचिवका रुपमा काम गरेकी सुपुत्री दाहालले हाल प्रधानमन्त्रीलाई सहयोग गरिरहेकाले हटाउन खोज्नु स्वयम् प्रधानमन्त्रीलाई नै असफल बनाउन खोज्नु हो’, उनले भने।  

यस विषयमा पार्टी वा सरकारमा कतै कुरा नउठे पनि बाहिरबाट प्रधानमन्त्रीले आफ्नो सचिवालय सदस्यबाट गंगा दाहाललाई हटाउनुपर्ने आवाज आएकाले यसमा कुनै तुक नरहेको आचार्यले बताए। 

‘प्रधानमन्त्रीका छोरा र श्रीमतीको निधन भइसकेको छ। उहाँ प्रधानमन्त्रीजस्तो पदीय जिम्मेवारीमा रहँदा नजिकबाट सहयोग गर्ने पारिवारिक सदस्य गंगा नै हुनुहुन्छ’, उनले शुक्रबार रासससँग भने, ‘उहाँलाई प्रधानमन्त्रीको सहयोगीका रुपमा निरन्तरता दिनु हुँदैन भन्नुको कुनै अर्थ छैन। यो त प्रधानमन्त्रीलाई नै असहयोग हो। प्रधानमन्त्रीजीलाई असहयोग गर्नु भनेको असफल बनाउन खोज्नु हो।’

मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना
यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना गरिएको छ। प्रधानमन्त्री प्रचण्डले सरकार गठनको एक वर्ष पुगेका अवसरमा यही पुस १० गते राष्ट्रका नाममा गरेको सम्बोधनमा नयाँ कार्यशैली, नयाँ संरचनासहित मितव्ययीरुपमा काम गर्ने घोषणा गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःगठन गरिएको हो। 

मन्त्रिपरिषद्ले हालै पारित गरेको परिमार्जित संरचनाअनुसार हाल प्रधानमन्त्रीको कार्यालय र सचिवालयका दरबन्दीमध्ये तीनजना सचिव र सात सहसचिवसमेत गरी ६८ जनाको दरबन्दी कटौती गरिएको छ।

त्यसैगरी प्रधानमन्त्री कार्यालयका कतिपय शाखा महाशाखालाई गाभिएको छ भने सूचना प्रविधिसम्बन्धी एक अलग्गै महाशाखा स्थापना गरिएको छ। मुलुकमा विकसित सूचना प्रविधिमा थप सहयोग पुर्‍याउन सूचना प्रविधिको अलग्गै महाशाखा गठन गरिएको हो। 

प्रधानमन्त्री कार्यालयलाई चुस्त, दुरुस्त र कामकाजी बनाउने प्रधानमन्त्री दाहालको योजनाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उनको सचिवालयको पुनःसंरचना गरेर दरबन्दी कटौती गरिएको प्रेस सल्लाहकार आचार्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .