ad ad

राजनीति


भूकम्पीय जोखिम न्यूनीकरणमा सहकार्य गरौँ : गृहमन्त्री

भूकम्पीय जोखिम न्यूनीकरणमा सहकार्य गरौँ : गृहमन्त्री

नेपालखबर
माघ २, २०८० मंगलबार १०:२७, काठमाडौँ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ मोडल विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौँ महानगरपालिकाबीच सहकार्य हुनुपर्ने बताएका छन्।

भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले मंगलबार बिहान न्युरोडको भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले त्यस्तो  मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने बताए। 

संविधानले विपद् व्यवस्थापनलाई मुलतः स्थानीय तहको एकल अधिकारको सूचीका साथै सबै तहको साझा सूचीमा राखेको उल्लेख गर्दै उनले विपद् व्यवस्थापन सबै तहका सरकारको दायित्व भएकोमा जोड दिए। 

‘सङ्घीय सरकार पालिकालाई सामथ्र्यवान् बनाउन मिलेर काम गर्न तयार छ’, उनले भने, ‘सङ्घीय सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई औजार तथा उपकरण उपलब्ध गराउँदै आएको छ।’

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वंसेवकको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए। उनले काठमाडौँ महानगरले स्वयंसेवीको परिचालन र तालिममा पहल गरेकामा उनले खुसी व्यक्त गरे।

जाजरकोट भूकम्पलगत्तै काठमाडौँ महानगरपालिकाले पुर्याएको सहयोगको सरहाना गर्दै उपप्रधानमन्त्री श्रेष्ठले साधन र स्रोतका हिसाबले अग्रणी कामपाको यस्ता कार्यले आगामी दिनमा निरन्तरता पाउनु पर्ने बताए। राजधानी रहेको महानगर पनि भएकाले काठमाडौँ महानगरको कदम अन्य पालिकाका लागि अनुकरणीय हुने उनको भनाई थियो। 

‘विद्यमान संरचना कति सुरक्षति छन्, कति असुरक्षित छन् भनेर जोखिम आकलन गर्ने, असुरक्षित रहेका भवनको प्रबलीकरणलगायत विधि प्रयोग गरी सुरक्षित बनाउने र नयाँ बन्ने भवन तथा संरचना भूकम्पबाट सुरक्षित हुनेगरी संहिता पालना गर्न गराउनमा महानगरले अग्रणी भूमिका खेल्ने विश्वास छ,’ उनले भने। 

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपाल भूकम्पको जोखिममा रहेकाले भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनुपर्ने बताइन्। 

भूकम्पलगायत विपद्जन्य घटनाबाट नागरिकलाई जोगाउन तीनै तहका सरकारको समन्वयात्मक भूमिका आवश्यक रहेकामा जोड दिँदै उनले स्थानीय प्रविधिको प्रयोग गरी बाबजुद संरचना निर्माण गरिनुपर्ने बताइन्। 

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा विसं २०५५ देखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। 

उक्त दिन दिउँसो २ः२४ बजे गएको आठ दशमलव चार म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार  १९९० सालको भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो। 

उक्त भूकम्पबाट ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्त घरसहित, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवन गरी दुई लाख सात हजार दुई सय ४८ संरचना भत्किएका थिए। 

यसैगरी विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पमा परी आठ हजार छ सय ७० जनाको निधन भएको थियो भने सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो। 

उपप्रधानमन्त्री श्रेष्ठलगायतले १९९० सालयताका भूकम्पमा परी मृत्युवरण भएका व्यक्तिको सम्झनामा पुष्पगुच्छा अर्पण गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .