ad ad

राजनीति


महेश बस्नेतले ‘सन्दीप लामिछानेविरुद्धको मुद्दा फिर्ता लिनुपर्छ’ भनेको भिडिओ भाइरल

महेश बस्नेतले ‘सन्दीप लामिछानेविरुद्धको मुद्दा फिर्ता लिनुपर्छ’ भनेको भिडिओ भाइरल

फाइल तस्बिर : एमाले नेता महेश बस्नेत


नेपालखबर
माघ ७, २०८० आइतबार १४:५४, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय सदस्य एवं भ्रातृ संगठन राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले बलात्कारमा दोषी ठहर भई ८ वर्ष जेल सजाय तोकिएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने आशयको अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

उक्त भिडिओमा उनले क्रिकेट खेलबाट संसारभर नेपाललाई चिनाएका सन्दीपविरुद्ध अन्तर्राष्ट्रिय शक्ति नै लागेको आशंका गर्दै क्रिकेटको उन्नतिका लागि पनि सरकारले उनीविरुद्धको मुद्दा फिर्ता लिनेसम्म सोच्न पर्ने सुझाव दिएका छन्। 

गत बुधबार राष्ट्रिय युवा संघले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो धारणा राखेका हुन्। 

‘यो बारेमा मलाई लाग्छ, अदालतले अझ रिभ्यु गरोस्। उच्च अदालतमा यो विषय जाँदै छ। अभियोजनकर्ता नेपाल सरकार, नेपाल प्रहरी, सरकारी वकिलको कार्यालय लगायतका कार्यालयहरूले पनि यसलाई रिभ्यु गरून्’, एमाले नेता बस्नेतले भिडिओमा भनेका छन्, ‘क्रिकेट गेमको उन्नति–प्रगतिका लागि र सन्दीपलाई अन्यायमुक्त गराउने सन्दर्भमा परिआउँदाखेरि नेपाल सरकारले मुद्दा फिर्ता लिने तहसम्म पनि सोच्नुपर्छ भन्ने लाग्छ।’ 

बलात्कारसम्बन्धी वर्तमान कानुनका कारण महिलाले पुरुषलाई दुःख दिएका घटना पनि सार्वजनिक  भइरहेकाले कानुन नै संशोधन गर्नेतर्फ पनि विचार गर्न एमाले नेता बस्नेतले सरकारलाई आग्रह गरेका छन्।

‘हामीले जुन ढंगले कानुन बनायौँ...बलात्कारका सन्दर्भका परिभाषा, त्यसका हदम्यादलगायत धेरै विषयवस्तु अलि व्यावहारिक भएनन् कि? यो चार/पाँच वर्ष अभ्यासका क्रममा हनी ट्र्यापिङ गर्ने, अनेक खालका कतिपय महिलाहरूले पुरुषहरूलाई दुःख दिने, अप्ठ्यारोमा पार्ने विभिन्न खालका घटना हाम्रासामु प्रकट भएका छन्’, उनले भनेका छन्, ‘यसका अनुभवका आधारमा संशोधन गर्ने तहसम्म पनि गर्दा राम्रै होला भन्ने लाग्छ मलाई।’ 

बस्नेतको उक्त धारणा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कतिपयले आलोचना पनि गरिरहेका छन्। 

यस्तो छ बस्नेतले भिडिओमा बोलेका पूरा कुरा–
क्रिकेटको माध्यमबाट सन्दीप लामिछानेले संसारभरि नेपालको नामलाई रोशन गरिरहेको सन्दर्भमा कतिपय अन्तर्राष्ट्रिय शक्तिको पनि चलखेल रह्यो कि भन्नेसम्मको प्रश्न उठिरहेका बेलामा सन्दीप लामिछानेलाई अन्याय दिन हुँदैन। र, सन्दीप लामिछानेमाथि अन्याय हुनु हुँदैन भनिरहँदा सम्बन्धित पीडित महिलालाई पनि अन्याय हुन दिन हुँदैन। यो बारेमा मलाई लाग्छ- अदालतले अझ रिभ्यु गरोस्। उच्च अदालतमा यो विषय जाँदै छ।

अभियोजनकर्ता नेपाल सरकार, नेपाल प्रहरी, सरकारी वकिलको कार्यालय लगायतका कार्यालयहरूले पनि यसलाई रिभ्यु गरून्। 

मलाई लाग्छ, क्रिकेट गेमको उन्नति–प्रगतिका लागि र सन्दीपलाई अन्यायमुक्त गराउने सन्दर्भमा परिआउँदाखेरि नेपाल सरकारले मुद्दा फिर्ता लिने तहसम्म पनि सोच्नुपर्छ भन्ने लाग्छ। हामीले जुन ढंगले कानुन बनायौँ र मुलुकी ऐनको फौजदारी संहिताको जुन ढंगले निर्माण गर्‍यौँ, त्यसलाई पुनर्लेखन गर्‍यौँ ७२ को संविधानपछि, त्यतिखेर बलात्कारका सन्दर्भका परिभाषा, त्यसका हदम्यादलगायत धेरै विषयवस्तु अलि व्यावहारिक भएनन् कि?

यो चार/पाँच वर्ष अभ्यासका क्रममा हनी ट्र्यापिङ गर्ने, अनेक खालका कतिपय महिलाहरूले पुरुषहरूलाई दुःख दिने, अप्ठ्यारोमा पार्ने विभिन्न खालका घटना हाम्रासामु प्रकट भएका छन्। यो समग्र कुरालाई हेरेर सम्बन्धित कानुनलाई संशोधन गर्ने तहसम्म भन्ने जुन आवाज आम बुद्धिजीवीमा उठेको छ, सोसल मिडिया र मिडियाहरूमा उठेको छ, कतिपय सांसदज्यूहरूले पनि उठाउनुभएको छ। यो विषयलाई गम्भीरताका साथ लिएर सम्बन्धित कानुनलाई यो ३/४ वर्षका अनुभव, ३/४ वर्ष के ६/७ वर्षै भइसक्या छ, यसका अनुभवका आधारमा संशोधन गर्ने तहसम्म पनि गर्दा राम्रै होला भन्ने लाग्छ मलाई। 

भिडिओ पनि सुन्नुहोस्-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .