ad ad

राजनीति


विनयी हिमानीबाट अभिव्यक्त राजनीतिक भाषा

‘म यही देशमा जन्मिएकी हुँ, देशको माया धेरै छ’
विनयी हिमानीबाट अभिव्यक्त राजनीतिक भाषा

नेपालखबर
माघ १९, २०८० शुक्रबार २१:३०, काठमाडौँ

हत्पत्ति सञ्चारमाध्यममा बोलेको नसुनिने पूर्वयुवराज्ञी हिमानी शाहले अभिनेत्री मनीषा कोइरालासँग केही निजी कुरा, केही सामाजिक सेवाका कुरा र केही अर्थपूर्ण राजनीतिक कुरा गरेर करिब एक घण्टा बिताएकी छन्।

भीएफवाई टक्स नामको युट्युब च्यानलमा गरिएको कुराकानीमा कलाकार कोइरालाले शाहलाई धेरैचोटि राजनीतिक विषयवस्तुमा तान्न खोजिन्। हिमानी शाह पनि निकै सम्हालिएर बोलिन्। तर, पर्याप्त राजनीतिक सन्देश दिन भ्याइन्।

उनले विदेश जाने नेपालीको लर्कोलाई राज्य सञ्चालकहरूको अक्षमता र अदूरदर्शिताको परिणामका रूपमा अर्थ्याइन्।

उनले भनिन्, ‘यो विडम्बना हो। रेमिट्यान्समा बाँच्नु भनेको त्यो दूरदर्शिता होइन। जति सक्दो देशले दिन सक्नुपर्ने थियो, त्यो हामीले दिन सकिरहेका छैनौँ। दूरदर्शिताको खाँचो छ। कुनै पनि काम गर्दाखेरि पछिसम्मको सोचेर, भविष्यको सोचेर गरे राम्रो हुन्छ।’

उनले आफूलाई भारतीयको छोरी भनेर गरिने टीकाटिप्पणीलाई लिएर पनि जवाफ दिन तयार भएर आएको देखिन्थ्यो। त्यसैले उनले बेप्रसंगमै आफ्नो परिवारमा देशको माटोप्रति बढी नै माया रहेको बताइन्, उनले भनिन्, ‘यो परिवारमा देशको माटोको माया सबै जनामा छ। त्यही भएर होला, ममा पनि धेरै छ। म यहीँ जन्मेको हो र यहीँ हुर्केको हो। मेरो २ जना दिदीबहिनी इन्डियामा जन्मिनुभयो, मचाहिँ यहीँ जन्मिएँ। म नेपाली नै हुँ।’

उनले देशभर जहाँ पुगे पनि आफ्नो परिवारप्रति माया गर्नेहरू धेरै भेटेको पनि बताइन्। खासगरी पूर्वराजा ज्ञानेन्द्रमा देशको अवस्थालाई लिएर धेरै नै चिन्ता रहेको र अझै केही गरौँ भन्ने सोच रहेको हिमानीका आवाजबाट पुनः व्यक्त भएको छ।

अहिले नेपाली जनतामा असन्तुष्टिको तह उच्च रहेको र त्यसो हुनुमा राज्य सञ्चालकले देशको हितमा काम गर्ने सोचको अभाव नै कारण रहेको उनको भनाइ छ।

उनले भनेकी छन्, ‘म धेरै ठाउँमा गएँ। धेरै ठाउँमा गुनासाहरू सुनेँ। खुसी त पक्कै पनि छैनन् जस्तो लाग्छ। समस्या धेरै नै छन्। तर कुन देशमा समस्या हुँदैनन्? सबै जना मिलेर अब अहिले पनि हामीले नेपालको बारेमा सोचेनौँ भने भने धेरै नै गाह्रो हुन्छ।’

उनले पाकृतिक स्रोत र साधनले सम्पन्न भएको कुरा यसरी व्याख्या गरिन्, ‘पहिला कृषिप्रधान देश भनिन्थ्यो। अहिले कृषि कहाँ छ? हाम्रो स्रोत साधन देशमा कति छ, त्यसलाई अवसरमा बदल्न सकिन्छ। देश सानो छ। बनाउन सकिन्छ। हिमाल,पहाड, तराई मिलेर बनेको देश हो।’

पर्यटन विकासका लागि भने वातावरण संरक्षणको कुरा पनि सँगसँगै अघि बढाउनुपर्ने राय पनि उनले दिइन्।

उनले जनताबाट उठाइएको करको सदुपयोग नभएको गुनासो पनि गरिन्। उनको प्रश्न छ, ‘हामी कर तिर्छौँ। तर कहाँ गइरहेको छ त्यो? जनतामा त्यो जान्ने उत्सुकता हुनुपर्छ र त्यो हाम्रो हक पनि हो।’

राजनीतिक वातावरण कस्तो लाग्छ भन्ने प्रश्नमा हिमानीले भनिन्, ‘म जहिले पनि भन्छु, मलाई राजनीतिदेखि टाढै राख भनेर। तर मलाई जहाँसम्म लाग्छ, लक्ष्य त सबैको एउटै हो– देश बनाउने। सिद्धान्त मात्र फरक हो। कसरी देशलाई माथि उकास्न सकिन्छ, यसमा सबैको सहमति हुनुपर्छ। सबैले देशलाई सोचिदिए पुग्छ। निःस्वार्थ भएर सोच्नुपर्छ।’

मनीषाले हिमानीको राजनीतिक आकांक्षाको जाँच बारम्बार जाँच्न खोजिन्। तर, हिमानीले आफ्ना ससुरा (बुवाहजुर)तिरै सोझ्याइन्। पति पारसका बारेमा एक शब्द बोलिनन्। आफ्नो परिवारका सदस्यहरू कुनै न कुनै सामाजिक काममा संलग्न रहेको बताउने क्रममा उनले बाल मन्दिरको स्थापनाको प्रसंग झिकिन् र रानी रत्नले आफ्नो गहना बेचेर पनि समाजको सेवा गरेको बताइन्। 

मनीषाले जनताको माया, आस र आस्था पूर्वराजपरिवारमा रहेको बताउँदै त्यो देख्दा कस्तो लाग्छ भनेर सोधेकी छन्। उनको त्यो अभिव्यक्तिबाट पुलकित हुन्छिन् हिमानी। त्यसमा पनि आफ्ना ससुरा ज्ञानेन्द्र शाहमा देश र जनताप्रतिको माया रहेको कुरा नै जोड्छिन्।

उनको भनाइ थियो, ‘त्यो माया भनेको आशिर्वाद हो। मभन्दा पनि बुवाहजुर जहाँ सवारी हुन्छ, त्यहाँ प्रेम देखाउँछन्। त्यो भनेर पनि सकिँदैन र उहाँलाई त्यति माया छ। त्यो आफै भनिसकिबक्सिँदैन होला, जति माया छ।’

पूर्वराजा ज्ञानेन्द्र देशलाई अझै केही गर्छु भनेर हिँडिरहेको हिमानीको भनाइ छ, ‘कुन परिस्थितिमा देशलाई (केही) गर्छु भनेर लागिपरिबक्सेको छ। उहाँको मर्का कसैले बोलिदिएर पनि सकिँदैन। त्यो हामीले देखेका छौँ। जति माया र कठिनाइहरू लिइबक्सेर पनि गर्छु भनिबक्सेको छ, त्यसमा हामी सबैले साथ दिनुपर्छजस्तो लाग्छ।’

उनले अनुहारमा भावुकता थपेर भनिन्, ‘बुवाज्यूको एउटै वाक्य- म मेरो देशमा बसेर काम गर्न पाउँदा त्योजस्तोको माया अरू केहीमा पनि लाग्दैन। (देश) छोडेर जाने आशा पनि छैन, छोड्दा पनि छोड्दैन।’

हिमानीका यी प्रत्येक वाक्यमा राजपरिवारको स्थान अझै फर्किन्छ कि भन्ने अपेक्षा नै देखिन्छ। उनका परिवारका अरू सदस्यको कुरामा गम्भीरता र निर्दोषिताको भाव कम हुँदै गएको बुझेर रणनीतिकरूपमै हिमानीलाई अघि सारिएको पनि हो कि भन्ने पर्याप्त ठाउँ छ।
यति हुँदाहुँदै पनि हिमानीले आम नेपालीको दर्जामा आफूलाई राख्न भुनिन्। 

पहिला (दरबारमा छँदा) र अहिलेको अवस्थामा के फरक लाग्छ भनेर मनीषाले सोध्दा हिमानीको जवाफ थियो, ‘मलाई त केही फरक लाग्दैन। देशको सेवा गर्न पाइरहेकै छु... (हाँसो)।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .