ad ad

राजनीति


रहेनन् कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बुढाथोकी

रहेनन् कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बुढाथोकी

नेपालखबर
माघ २३, २०८० मंगलबार ७:३८, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ। 

विराटनगरस्थित विराट मेडिकल कलेज उपचारका क्रममा सोमबार राति ८० वर्षको उमेरमा नेता बुढाथोकीको मृत्यु भएको हो। 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता बुढाथोकीप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

सांसदसमेत रहेका कांग्रेस महाममन्त्री शर्माले लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता, केन्द्रीय सदस्य, पूर्वमन्त्री केशवकुमार बुढाथोकीको उपचार क्रममा विराट मेडिकल कलेज विराटनगरमा निधन भएको छ। हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी झापाको भूमिमा उहाँको ठूलो रिक्तता अनुभूति हुनेछ। उहाँका योगदानहरू हामी सदैव स्मरण गरिरहने छौँ। पार्टी पंक्ति, उहाँका तमाम शुभेच्छुक अनि परिवारजनमा गहिरो समवेदनासहित आदरणीय कुमार दाइप्रति भावपूर्ण श्रद्धाञ्जली!’

नेता बुढाथोकी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए। पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए। 

‘सेतो बाघ’ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिकाका बासिन्दा बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए। 

नेता बुढाथोकी सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भइसकेका थिए। 

बुढाथोकीका दुई छोरा र एक छोरी छन्। नेता बुढाथोकीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज झापा जिल्ला पार्टी कार्यालयमा राखिने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .