ad ad

राजनीति


संसद्‍मा एमाले र रास्वपाले खोजी गर्दा कहाँ थिए प्रधानमन्त्री प्रचण्ड?

संसद्‍मा एमाले र रास्वपाले खोजी गर्दा कहाँ थिए प्रधानमन्त्री प्रचण्ड?

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०८० बुधबार १४:३३, काठमाडौँ

संघीय संसद्को हिउँदे अधिवेशनको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाको बैठकमा देखिएनन्।

अघिल्लो अधिवेशनमा बिजनेस नदिएको भन्दै आलोचना भएपछि यस पटक सरकारले दर्जन बढी विधेयक छलफलका लागि पेश गर्दैछ।

सरकारको तयारी बमोजिम संघीय संसद् सचिवालयले पनि आगामी फागुन १५ गतेसम्मका लागि संसद्को कार्यक्रम नै तय गरिसकेको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितले संसद्लाई शून्य र विशेष समयमा मात्रै सीमित बनाएको आरोप लगाइरहँदा बिजनेस दिने तयारी सरकारले गरेको हो।

माघ २२ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनको दोस्रो दिन बुधबार संघीय संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई बोल्न समय उपलब्ध गराएको थियो।

संघीय संसद् सचिवालयले सत्तारुढदेखि प्रतिपक्षी सबै दललाई बोल्ने समय छुट्टाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधनको तयारी गरेका थिए। सबै दललाई सम्बोधनका लागि संघीय संसद् सचिवालयले बिहान ११ बजे बैठक डाकेको थियो। 

तर, प्रतिपक्षीका कुरा सुन्न कार्यपालिका प्रमुख नै संसद्मा अनुपस्थित भएपछि उनले आफ्नो सम्बोधन रोके। कार्यपालिका प्रमुखलाई प्रतिपक्षीका कुरा सुनाउन ओलीले लामो सम्बोधन तयारी गरेका थिए। तर प्रधानमन्त्री अनुपस्थित भएपछि अब फागुन ६ गतेको बैठकमा आफ्ना कुरा राख्ने ओलीले बताए।

‘आज बोल्छु भनेको थिएँ, प्रधानमन्त्रीज्युको कता कार्यक्रम परेछ, बोल्न पाइएन,’ ओलीले संसद् भवन परिसरमा भने, ‘मेरा केही कुरा छन, अब फागुन ६ गते बोल्छु।’

एमाले सांसद रघुजी पन्तका अनुसार सदनको नेता नै अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी नेताको सम्बोधन रोकिएको हो। 

‘संसद्‍को नेता प्रधानमन्त्री हो। तर उहाँ नै उपस्थित हुनु भएन’, उनले भने, ‘उहाँ नआएकै कारण प्रतिपक्षी दलको नेता (केपी शर्मा ओली) बोल्नु भएन।’ 

बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डको खोजी गर्ने अर्का नेता थिए रवि लामिछाने। आफूलाई सहकारीको बचत ठगी गरेको आरोप लागिरहेका बेला रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री संसद्मा नआउँदा एउटा प्रतिवेदन हस्तान्तरण गर्न नपाएको बताए। 

‘सहकारीको बचत ठगी गरेको आरोप हामीले पनि झेलिरहनु परेको छ। यस्तोमा अहिले सहकारीमा देखिएको समस्यालाई नीतिगत रुपमै हल गर्न हामीले एउटा प्रतिवेदन तयार पारेका थियौँ’, उनले प्रतिनिधि सभामा सम्बोधनका क्रममा भने, ‘अब प्रधानमन्त्री नै संसद्मा नआएपछि प्रतिवेदन बुझाउन पाइएन। उहाँ आउनु भएको भए सहकारीका समस्या समाधानका उपायसहितको प्रतिवेदन यहीँ बुझाउन हुन्थ्यो।’

कता थिए प्रधानमन्त्री? 


संघीय संसद् बैठकमा अनुपस्थित भएका प्रधानमन्त्री प्रचण्ड राजधानी छाडेर गएका थिएनन्। उनी उपत्यकाभित्रै अझ सिंहदरबारमै थिए।

प्रतिनिधि सभाको बैठक बस्ने समयमै प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजे सिंहदरबारमा राष्ट्रिय समन्वय परिषदको बैठकमा सहभागी थिए।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कोठा नं. ४१३ मा भएको उक्त बैठकमा प्रधानमन्त्री उपप्रधानमन्त्रीद्वय र अन्य मन्त्रीहरु तथा मुख्यमन्त्रीहरूसहित छलफलमा थिए। 

जहाँ उनको सचिवालयले प्रधानमन्त्री संघीयता कार्यान्वयनमा सक्रिय भएर उक्त ब‌ैठक राखेको जनाएको छ। प्रचण्डले बैठकमा संघीयता कार्यान्वयन सम्बन्धमा सङ्घीय सरकारले गर्न बाँकी कार्यायोजना र हालसम्म भएका तथा कार्यान्वनमा देखिएका समस्याबारे छलफल गरेको जनाएको छ।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षमै राष्ट्रिय समन्वय परिषद् बैठक बसेको हो। बैठकमा अन्तर प्रदेश परिषद्बाट स्वीकृत सङ्घीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनको अवस्थाको समीक्षा गरी सम्पन्न हुन नसकेका कार्यको कारण पहिचान गरी उपयुक्त निकास दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा कार्यविस्तृतिकरणलाई सरल, स्पष्ट र कार्यजिम्मेवारी नदोहोरिने गरी पारिमार्जन गरी अन्तिमरुप दिने र त्यसलाई कार्यान्वयनमा लैजाने गरी बैठकमा छलफल भएको बताइएको छ।

बैठकमा प्रदेश तथा स्थानीय तहको लागि मार्गदर्शक मानिने सङ्घीय निजामती सेवा ऐन जारी गर्न नसक्नुका कारण एवं संविधानको अनुसूची ७ र ९ बमोजिम साझा अधिकार सूचीको कार्यान्वयन गर्न आवश्यक ऐन, नियम र मापदण्डका विषयमा विचारविमर्श भएको  प्रधानमन्त्रीको सचिवालयले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .