ad ad

राजनीति


प्रचण्ड सचिवालयको खण्डन: रवीन्द्र मिश्रले आफ्नो राजनीतिक स्वार्थअनुकूल प्रचार गरेछन्

प्रचण्ड सचिवालयको खण्डन: रवीन्द्र मिश्रले आफ्नो राजनीतिक स्वार्थअनुकूल प्रचार गरेछन्

नेपालखबर
असोज ९, २०८१ बुधबार ९:१८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटका सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गरेको प्रचार ‘आफ्नो राजनीतिक स्वार्थअनुकूल प्रस्तुत गरेको’ भनी प्रचण्डको सचिवालयले खण्डन गरेको छ।

मंगलबार बिहान प्रचण्डकै निवास खुमलटार पुगेर उनीसँग भेटेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मिश्रले प्रचण्डको भनाइ भनी ७ बुँदामा प्रस्तुत गरेका छन्। जसमा उनले प्रचण्डले पञ्चायत व्यवस्था र राजतन्त्रप्रति सकारात्मक कुरा गरेको दाबी गरेका छन्।

प्रचण्डले भनेको भनी मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्- 

‘२. पछिल्लोपटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गज्जबका 'भिजनरी' राजा रहेछन्।

३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पूरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।’

मिश्रले यस्तो लेखेपछि माओवादी विद्रोहका सहयोद्धा हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समेत कडा कटाक्ष गरेका छन्। 

यसैबीच पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले बुधबार बिहान वक्तव्य जारी गरी मिश्रले सस्तो राजनीतिक प्रचार गरी भनेको खण्डन गरेको हो।

प्रचण्डका स्वकीय सचिव रमेश मल्ल र छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत नै जारी गरेको विज्ञप्तिमा भनिएको छ- 

‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पोस्ट्याउनुभएको छ। साथै पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ।

जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान् बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनुभएको छ। उहाँका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनीतिक स्वार्थअनुकूल प्रस्तुत गर्नु राजनीतिक संस्कार होइन।

पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र मिश्रजी? तसर्थ यति सस्तो राजनीतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि?’

यस्तो छ रवीन्द्र मिश्रको पोस्ट-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .